झापामा अन्तर्राष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिता हुने, विजेतालाई साढे १२ लाख

नेपाल लाइभ | २०७६ श्रावण २९ बुधबार | Wednesday, August 14, 2019 ०८:५४:०० मा प्रकाशित

झापा- आगामी असोज ११ गतेदेखि १८ गतेसम्म झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा ‘हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकप २०७६’ हुने भएको छ।

प्रतियोगितामा दुई विदेशीसहित नेपालका विभागीय टोलीको सहभागिता रहने मङ्गलबार बिर्तामोडमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिइयो।

विगत दुई वर्षदेखि खेलकुद क्षेत्रमा अघि बढिरहेको जायोन स्पोर्टस् क्लबले प्रतियोगिता आयोजना गर्न लागेको हो। प्रदेश १ को झापालाई खेलकुद क्षेत्रको ‘हब’का रुपमा विकास गर्न प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष भक्तबहादुर भुजेलले जानकारी दिए।

प्रतियोगिताको विजेता टिमले नगद १२ लाख ५० हजार र उपविजेता टिमले ६ लाख २५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रतियोगिता सम्पन्न गर्न झण्डै ८० लाख रुपैयाँ लाग्ने बताइएको छ।

यसैबीच क्लबले प्रतियोगिताका लागि राष्ट्रिय महिला टिमका प्रशिक्षक हरि खड्कालाई ‘ब्राण्ड एम्बेस्डर’ नियुक्त गरेको जानकारी दिएको छ। कार्यक्रममा उपस्थित प्रशिक्षक खड्का र आयोजकका अध्यक्ष भुजेलबीच सम्झौतापत्रमा हस्ताक्षर समेत भएको छ। रासस