काडमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ।
गत साउन १३ गते बसेको बैठक हिजोका निम्ति स्थगित गरिएको थियो। तर, हिजोको बैठक पनि स्थगित भएर आजको लागि बैठक बोलाइएको हो। बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ।
यसअघि १३ गतेको बैठकमा केन्द्रीय निकायहरुको एकीकरण, जिम्मेवारी निर्धारण र केन्द्रीय समिति सदस्यहरुको कार्यविभाजनका निम्ति उनीहरुको रुचिका प्राथमिकता सोध्ने निर्णय गरेको थियो।
'केन्द्रीय कमिटीका सबै सदस्यहरुको कार्यविभाजनका निम्ति सबैसँग रुचिका प्राथमिकताहरु सोध्ने, सल्लाह गर्ने र व्यवस्थित र परिमार्जित प्रस्ताव ल्याउने गरी आजको बैठक स्थगित भएको छ', १३ गतेको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भनेका थिए।
पार्टीको केन्द्रीय निकाय अन्तर्गत केन्द्रीय सल्लाहकार समिति, राष्ट्रिय परिषद्, केन्द्रीय आयोगहरु, ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय विभागहरुको टुंगो लाग्न बाँकी छन्।
विशेषगरी स्कुल विभागको नेतृत्वमा ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठ दुवैको दाबी रहेको छ। त्यसका अतिरिक्त घनश्याम भुसाल तथा वेदुराम भुसालले पनि रुची देखाएका छन्। नेतृत्व टुंगो लगाउन नसक्दा नेकपाको सचिवालय बैठकहरु अनिर्णित हुँदै आएका थिए। (फाइल तस्बीर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।