दोहा (कतार)- दोहाको ‘एसियन टाउन एम्पिथिएटर’को मञ्चमा आइतबार बेलुकी चढ्नेबित्तिकै हजारौं दर्शकको कोलाहलबीच नेपथ्यका मुख्य गायक अमृत गुरुङले सुरुमा एकछिनसम्मै चन्द्रमातर्फ हेरे। ‘बहुसांस्कृतिक विविधताले यो संसारलाई नै एउटा रमाइलो गाउँ बनाएको छ,’ आकाशतिर सोझिएको नजर अगाडिको दर्शक दीर्घामा घुमाउँदै उनले भने, ‘आफ्नो कक्षमा बाह्रौं दिन यात्रा गरेपछि यो चन्द्रमाले मुसलमान समुदायमा इद पर्व ल्याइरहेको छ भने अबको तीन दिनमा यसै चन्द्रमाले पूर्ण आकार लिएर हाम्रो हिन्दुबहुल नेपाली समुदायमा भने जनैपूर्णिमा ल्याइदिनेछ।’
अमृतले गाउन सुरु गर्नु अघि सम्पूर्णलाई ‘इद मुबारक’ भन्दै आफूले तमाम दर्शकहरुको निम्ति जनै पूर्णिमाको शुभकामना पनि बोकेर ल्याएको जानकारी गराए। ‘जनै पूर्णिमाको बेला नेपालका धेरै मानिसहरु लाङटाङ क्षेत्रमा पर्ने गोसाइकुण्डको तीर्थ गर्न जाने गरेका छन्,’ उनले थपे, ‘आजको कन्सर्टको सुरुवात हामीले त्यसै क्षेत्रबाट संकलन गरेर तयार पारेको गीतबाट गर्दैछौं।’ त्यसपछि जसै दोहाको उखरमाउलो गर्मीमा अमृतले ‘भेँडाको उनजस्तो’ गाउन सुरुगरे, गीतले हजारौं दर्शकहरुमा उत्साहको सञ्चार गराएको देख्न सकिन्थ्यो।
त्यसपछि कन्सर्टमा लगातार नेपथ्यको सर्वकालीक हिट गीतहरु ‘छेक्यो छेक्यो’, ‘शिरफूल शिरैमा’, ‘लामपाते सुरती’ जस्ता गीतहरु बजेका थिए।
अबको गीत भने अमृतले कतारमा संघर्ष गरिरहेका तन्नेरीहरुलाई उनीहरुका प्रियहरुको सन्देशका रुपमा सुनाउन चाहे।
‘मै मरी जाऊँला जीवन छोट्टो छ
लेखेको सम्झना चेत्तेर नफाल
सिरानमा फोटो छ’
कन्सर्टमा त्यसपछि फेरि ‘चरि मर्यो’, ‘जोमसोमे बजारमा’, ‘जोगले हुन्छ भेट’, ‘हामी नेपाली’, ‘यो जिन्दगानी’ हुँदै अघि बढेको थियो। त्यसपछि पूर्वी नेपालको पदयात्राका क्रममा संकलन गरिएको हाक्पारेमा आधारित ‘कोशीको पानी’ हुँदै ‘रेशम’ सम्म पुगेपछि देशप्रेमका गीतहरुको क्रम सुरु भएको थियो। ‘गाउँ गाउँबाट उठ’ ‘हिमाल चुचुरे’, ‘मै नाचेँ छमछमी’, ‘तालको पानी’ हुँदै अन्तिममा ‘रातो र चन्द्रसूर्जे’मा पुगेर कार्यक्रम टुंगिएको थियो।
नेपथ्यले दोस्रोपटक आफूलाई दोहाको मञ्चमा प्रस्तुत गरेको हो।
‘यसरी परदेशमा आएर श्रम गरिरहेका नेपाली दाजुभाइहरुलाई देशको माया बोकेर आउन पाउँदा असाध्यै हर्ष लाग्छ,’ गायक अमृतले भने, ‘सधैं जस्तै हामीले नेपाली माटोबाटै उब्जिएको लोकभाकामा आधारित सिर्जनाहरु दाजुभाइहरुलाइ बाँड्न पाएकोमा खुशी लागेको छ।’
कतारमा कन्सर्टको आयोजक मध्ये को ‘लेभल एफएन एडभर्टाइजिङ एन्ड इभेन्ट’ का लक्ष्मणप्रसाद चौलागाईंले नेपथ्यको उपस्थितिले हामी कतारबासी नेपालीलाई एकजुट हुने मौका उपलब्ध दिलाएको भन्दै खुसी व्यक्त गरे।
सधैंजस्तै दोहामा पनि गायक अमृतलाई ब्यान्डका सदस्यहरु ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, गितारमा निरज गुरुङ, बेस गितारमा सुविन शाक्य र मादलमा शान्ति रायमाझीले सघाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।