काठमाडौं - १३ औँ दक्षिण एसियाली खेलकुद सागको तयारीमा रहेको नेपाली महिला फुटबल टोली कीर्गिस्तानमा हुने नादेझ्दा कपमा सहभागी हुने भएको छ। नादेझ्दा कप आउँदो भदौ २२ देखि २६ गतेसम्म हुँदै छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले नादेझ्दा कपमा नेपाली टोलीले पाँच दिनमा चार खेल खेल्ने तालिका तय भएको जनाएको हो। प्रतियोगितामा कीर्गिस्तान र नेपालसहित ताजिकिस्तान र उज्वेकिस्तानले भाग लिने छन्।
नेपालले भदौ २२ गते आयोजक कीर्गिस्तानसँग, २३ गते दोस्रो खेलमा उज्वेकिस्तानसँग र तेस्रो खेलमा २४ गते ताजिकिस्तानसँग खेल्नेछ। २५ गते एक दिन मात्रै विश्रामपछि तेस्रो स्थानका लागि हुने खेलसँगै फाइनल खेल २६ गते हुने तय भएको छ।
गएको वर्ष चैतमा नेपालमा नै आयोजना भएको महिला साफ च्याम्पियनसिपमा नेपाल फाइनलमा भारतसँग पराजित भएको थियो। साफअघि भारतमा भएको हिरो गोल्डकपमा पनि नेपाल उपविजेता मात्रै बन्यो, यसैले नेपालमा नै हुने सागमा स्वर्ण जित्ने दबाव र अवसर नेपालसँग रहने छ।
सागकै लागि प्रशिक्षक हरि खड्काको नेतृत्वमा नेपाली प्रारम्भिक टिम अभ्यासरत छन्। १३ औं साग काठमाडौं, ललितपुर र पोखरामा मंसिर १५ देखि २४ गतेसम्म आयोजना हुँदै छ। जसमा महिला फुटबल पोखरा रंगशालामा हुने तय भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।