काठमाडौं– तस्करीको लाइन मिलाउन भन्दै पैसा लिएर इलाका प्रहरी कार्यालय जितपुर बारा पुगेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्साको वीरुगञ्ज महानगरपालिका–२२ का ३५ वर्षीय उपेन्द्रप्रसाद यादव छन्। उनी मंगलबार राति साढे ८ बजे इलाका प्रहरी कार्यालय जितपुर पुगेका थिए।
त्यसपछि उनले प्रहरीलाई आफू नेपालका विभिन्न ठाउँमा तस्करीका सामान ओसारपसारको काम गर्ने र प्रहरीलाई तस्करीको लाइन मिलाउन भन्दै मासिक रुपमा आफूले पैसा दिन चाहेको बताएका थिए। लगत्तै उनले खल्तीबाट १० हजार रुपैयाँ निकालेर प्रहरीलाई दिन खोजेका थिए। तर प्रहरीले उनलाई गाली गर्दै कार्यालयबाट बाहिर जान भनेको थियो।
त्यसपछि पैसा लिए पनि नलिए आफूले जसरी भए पनि तस्करीको काम गरेरै छाड्ने भन्दै प्रहरीलाई अपशब्द प्रयोग गरेर गाली समेत गरेका उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले उनको साथबाट १० हजार रुपैयाँ पनि बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।