नाडा अटो शोमा टिभिएसको 'आरआर-३१०' मुख्य आकर्षण

नेपाल लाइभ | २०७६ श्रावण २९ बुधबार | Wednesday, August 14, 2019 १३:०६:०० मा प्रकाशित

काठमाडौं- यो वर्षको नाडा अटो शोमा टिभिएसले नेपाली बजारमा उपलब्ध मोडलहरुलाई नै प्राथमिकताका साथ प्रदर्शन गर्ने भएको छ। नेपालका लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले आरआर-३१० लाई मुख्य प्राथमिकता दिने भएको छ।

टिभिएसको आरटिआर सिरिजका मोटरसाइकल आरटिआर-२००, आरटिआर-१६० तथा एनटर्क स्कुटरसमेत 'नाडा अटो शो २०१९'मा प्रदर्शनी तथा बिक्रीका लागि राखिने जगदम्बा मोटर्सका मार्केटिङ म्यानेजर नवराज कोइरालाले जानकारी दिए।

अटो शोमा कम्पनीले नयाँ उत्पादन ल्याउनेभन्दा भएका उत्पादनलाई नै प्रोत्साहन गर्ने नीति लिएको कोइरालाको भनाइ छ। ‘उपभोक्ताको चाहनाअनुसार कम्पनीको पाइपलाइनमा भएका मोडल नेपाली बजारमा उपलब्ध गराउँदै जानेछौं,’ कोइरालाले भने, ‘भदौ १० देखि हुने अटो शोमा भने टिभिएसका आरआर-३१०, एनटर्क स्कुटर र आरटीआर-२०० लाई महत्व दिने योजनासहित काम गरिरहेका छौं।’

अटो शोमा सवारी बिक्रीभन्दा उत्पादनका बारेमा उपभोक्तालाई भरपुर जानकारी गराउनु जगदम्बा मोटर्सको लक्ष्य रहेको कोइरालाले बताए। ‘टिभिएसका उत्पादनका बारेमा अटो शोमा उपभोक्तालाई प्रोडक्ट अवेरनेस गराउनमै हाम्रो ध्यान केन्द्रित हुनेछ,’ उनले भने।