काठमाडौं– ‘पहिलो पटक पर्वतका कलाकारहरु एउटै मञ्चमा देखिनु र कला प्रर्दशन गर्नु नै हाम्रा लागि ऐतिहासिक हुनेछ’, पर्वत कलाकार समाजका अध्यक्ष लोकप्रिय गायक तथा संगीतकर्मी कस्तुप पन्तले भने, ‘दशैंको छेकोमा हुन लागेको यो कार्यक्रमको बहुपक्षीय अर्थ छ। त्यसैले १४ असोजमा काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा हुने यो कार्यक्रममा सबैको सहभागिता हामीले अपेक्षा राखेका छौं।’
२० लाख रुपियाँको अक्षयकोष स्थापनार्थ आयोजना गर्न लागिएको सो आसन्न कार्यक्रमबारे पर्वत कलाकार समाजले अघिल्लो साता मात्रै विभिन्न पेशा तथा व्यवसायका अगुवाहरुसँग काठमाडौंमा छलफल पनि आयोजना गरेको थियो। कार्यक्रममा प्राप्त सुझावकै आधारमा कार्यक्रमको ढाँचा तयार पारिएको जानकारी समाजले दिएको छ।
‘यो ऐतिहासिक कार्यक्रमले पर्वतका कलाकारलाई एक ठाउँमा ल्याउने मात्र होइन दशैंको उल्लास र एकआपसमा शुभकामना आदानप्रदानको अवसर पनि जुटाइदिने छ’ समाजका महासचिव कृष्ण समिप सुवेदीले भने, ‘१ अक्टोबरका दिन एकेडमी हलमा दुई बजेदेखि सुरु हुने कार्यक्रममा दशैं मनाउन विदेशबाट आएका सबै पर्वतेहरुलाई पनि निमन्त्रणा गरिनेछ।’
यता काठमाडौंमा कार्यक्रम आयोजनाको मिति घोषणा गरेपछि अध्यक्ष पन्त र उपाध्यक्ष लोकप्रिय लोक गायक याम क्षेत्रीले पवर्त सदरमुकाम कुश्मा पुगेर यसबारे स्थानीय पत्रकारहरु समेत जानकारी दिएका थिए। ‘कार्यक्रमको उद्देश्य अक्षयकोष स्थापना हो’ अध्यक्ष पन्तले भनेका छन्, ‘ उठेको रकम रकम पर्वतमा सामाजिक सहयोग र पर्वतका प्रतिभाहरु जो आर्थिक रुपमा सबल छैनन्, उनीहरुको सहयोगका लागि खर्च गरिने छ।’
कलाकारहरु समाजका आदर्श हुन् भन्ने मूल मन्त्रमा रहेर यस्तो उद्देश्य राखिएको भनाइ उनको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।