काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक फेरि पनि स्थगित भएको छ।
मंगलबार बस्ने भनिएको बैठक बुधबारको लागि स्थगित भएको थियो। गत साउन ५ गते बैठक बसेपछि पटकपटक स्थगित हुँदै १३ गते बसेको थियो। त्यसपछि साउन २८ गते (मंगलबार)सम्मका लागि स्थगित गरिएको थियो।
नेकपामा स्कुल विभागको नेतृत्व टुंग्याउन सकस परिरहेको छ। दुई अध्यक्षले छुट्टै र अन्य नेताहरु पटकपटक छलफल गरे पनि निष्कर्षमा पुग्न सकेका छैनन्।
उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली ९ दिनपछि स्वदेश फर्केर भेटघाट तिब्र पारेका छन्।
यसअघि १३ गतेको बैठकमा केन्द्रीय निकायहरुको एकीकरण, जिम्मेवारी निर्धारण र केन्द्रीय समिति सदस्यहरुको कार्यविभाजनका निम्ति उनीहरुको रुचिका प्राथमिकता सोध्ने निर्णय गरेको थियो।
'केन्द्रीय कमिटीका सबै सदस्यहरुको कार्यविभाजनका निम्ति सबैसँग रुचिका प्राथमिकताहरु सोध्ने, सल्लाह गर्ने र व्यवस्थित र परिमार्जित प्रस्ताव ल्याउने गरी आजको बैठक स्थगित भएको छ', १३ गतेको बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भनेका थिए।
पार्टीको केन्द्रीय निकाय अन्तर्गत केन्द्रीय सल्लाहकार समिति, राष्ट्रिय परिषद्, केन्द्रीय आयोगहरु, ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय विभागहरुको टुंगो लाग्न बाँकी छन्। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।