गत मे २२ मा सगरमाथा आरोहणका क्रममा देखिएको पर्वतारोहीको लाइन। तस्बिर- निर्मल पुर्जा।
काठमाडौं- गत जेठमा सगरमाथा आरोहण गर्ने आरोहीका कारण त्यहाँ ‘जाम’ भएको विषयमा अध्ययन गर्न गठित कार्यदलले त्यो जाम नभई लाम भएको निष्कर्षसहितको प्रतिवेदन सरकारलाई बुझाएको छ।
नेपालको पर्वतीय पर्यटनका क्षेत्रमा पछिल्लो समयमा देखा परेका समस्याको अध्ययन गरी त्यसको समाधानका उपायहरु, पर्वतीय पर्यटनलाई दिगोरुपमा सुरक्षित पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न गर्नुपर्ने नीतिगत, कानूनी, संरचनागत र कार्यविधिगत सुधारका लागि सुझाव दिन गत जेठ २४ गते उक्त कार्यदल गठन भएको थियो।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिले बुधबार मन्त्री योगेश कुमार भट्टराईलाई प्रतिवेदन बुझाएको हो।
प्रतिवेदन बुझ्दै मन्त्री भट्टराईले कार्यदलले दिएको सुझाव कार्यान्वयनका लागि आवस्यक सम्पूर्ण कदम चाल्ने प्रतिवद्धता व्यक्त गरेका छन्। साथै मन्त्री भट्टराईले हिमाल आरोहणमा आउने विदेशीलगायत सबैलाई मापदण्ड पुरा गर्नसमेत भनेका छन्। ‘मापदण्ड पुरा गर्नेहरुका लागि सरकारले सुरक्षा दिन्छ,' उनले भने।
कार्यदलले तयार पारेको अध्ययन प्रतिवेदनअनुसार जेठ २२ र २३ गते अरु दिनको भन्दा हिमाल आरोहणका लागि मौसम अनुकुल भएपछि आरोहीको संख्या बडी देखिएको पनि उल्लेख गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।