काठमाडौं - पाँचौँ एभिसी एसियन सेन्ट्रल जोन पुरुष भलिबलको तयारीका लागि खेलिएको पहिलो खेलमा नेपालले अफगानिस्तानलाई ३-२ को सेटमा हराएको छ।
आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्र लखनखेलमा भएको खेलमा पहिलो सेट २५-२२ ले हारेको नेपालले दोस्रो सेट २५-१७ ले जितेको थियो। तेस्रो सेट २५-२१ ले जितेको नेपालले चौथो सेट २५-२३ ले गुमाउन पुग्यो। अन्तिम सेटमा राम्रो खेल्दै १५-१३ ले जित्दै नेपालले अफगानिस्तानलाई हराएको हो।
नेपालले दोस्रो मैत्रीपूर्ण खेलमा अफगानिस्तानसँग नै बिहीबार खेल्दै छ। पाँचौँ एभिसी एसियन सेन्ट्रल जोन भलिबल भदौ २ गतेदेखि ७ गतेसम्म हुने छ।
नेपाल भलिबल संघको आयोजना र एसियन भलिबल संघको संयोजनमा हुने प्रतियोगितामा नेपालसहित साविक विजेता तुर्किमिनिस्तान, बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान र उज्वेकिस्तान सहभागी हुने छन्।
प्रतियोगिताका लागि १४ सदस्यीय नेपाली टोलीमा आर्मीका धनबहादुर भट्ट क्षेत्री, राजेन्द्र विष्ट, हरिबहादुर अधिकारी, दुर्गा खड्का, नरेन्द्र गिरी, हरिहजुर थापा र ईश्वर थापा मगर साथै नेपाल पुलिसबाट विशाल बिक, कुलबहादुर थापा, दिपक राज जोशी र कप्तान इमबहादुर मगर रहेका छन्। यस्तै एपिएफका टेकराज अवस्थी, राजकुमार निरौला र विनोद बहादुर चन्द पनि टोलीमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।