काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा अनुशासन समितिको प्रतिवेदनमा छलफल सुरु भएको छ।
बुधबार बसेको केन्द्रीय समितिको बैठकमा केन्द्रीय अनुशासन समितिका सभापति भिष्मराज आङ्गदम्बेले आफ्नो प्रतिवेदन पेस गरेपछि छलफल सुरु भएको हो।
नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा अनुशासन समितिको प्रतिवेदनको साथै विभिन्न तहमा हुने उपनिर्वाचनको विषयमा समेत छलफल हुने कार्यसूची छ। नेपाली कांग्रेसले केही दिनअघि अन्तरिम संरचनालाई रुपान्तरण गरी संघीय व्यवस्था बमोजिम विधानको धारा ७२ बमोजिम संरचना बनाउने निर्णय गरिसकेको छ।
कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले दोश्रो चरणको जागरण अभियान सुरु हुनुअघि उपनिर्वाचन र भातृ संगठनहरुको विषयमा केन्द्रीय समितिले निर्णय लिने बताए।
नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा विधान र अन्तरिम संरचनाबाहेक नेपाल लोकतान्त्रिक फोरमका सांगठनिक संरचना संयोजन समितिको प्रतिवेदन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन, राष्ट्रिय जागरण अभियानको प्रथम चरणको प्रतिवेदन प्रस्तुत भइसकेको छ।
बुधबार छलफलका लागि पेस भएको अनुशासन समितिको प्रतिवेदनमा प्रतिनिधिसभालगायत तीनै तहको निर्वाचनमा पार्टीको उम्मेदवार हराउने र असहयोग गर्ने व्यक्तिहरुलाई कारबाही सिफारिस गरिसकेको छ।
समितिको कारबाही सिफारिस एकपक्षीय र गुटगत निर्णय भएको भन्दै पार्टीभित्र विरोध पनि भइरहेको छ। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।