काठमाडौं – एसिया प्यासिफिक शारीरिक सुगठन च्याम्पियनसिपमा भाग लिन तीन खेलाडीसहित चार सदस्यीय नेपाली टोली शुक्रबार थाइल्यान्डको बैंकक जाने भएका छन् ।
अगष्ट १६ देखि १८ तारिखसम्म हुने प्रतियोगितामा पुरुष ६५ केजीमा समिर श्रेष्ठ तथा पुरुष फिटनेस फिजिकमा राजु राईले खेल्ने छन् । महिला मोडेल फिजिकमा मल्लिका शाक्यले प्रतिस्पर्धा गर्नेछिन् ।
तीनै खेलाडी साउनको पहिलो साता काठमाडौंमा भएको १२ औं दक्षिण एसियाली शारीरिक सुगठन प्रतियोगिताका पदक विजेता हुन् । समिर र मल्लिकाले स्वर्ण तथा राजुले रजत जितेका थिए ।
टोली प्रमुखमा नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघका उपाध्यक्ष दिनेश राजभण्डारी रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले बुधबार एक कार्यक्रमबीच बिदाइ गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।