इजी-ट्याक्सी नेपालको गाईजात्रे अफर : एपमार्फत् ट्याक्सी चढ्नुस्, रकम फिर्ता पाउनुस्

नेपाल लाइभ | २०७६ श्रावण ३० बिहीबार | Thursday, August 15, 2019 १३:५०:०० मा प्रकाशित

काठमाडौं- एप्लिकेसनमार्फत् ट्याक्सी सेवा प्रदान गर्दै आएको इजी-ट्याक्सी नेपालले गाईजात्राको अवसरमा यात्रुहरुलाई ‘क्यासब्याक अफर’ ल्याएको छ।

एप्समार्फत् घरमा नै ट्याक्सी बोलाउन सकिने सेवा दिँदै आएको इजी-ट्याक्सी नेपालले गाईजात्राको अवसरमा जति रकम ट्याक्सीमा उठ्छ त्यति नै रकम यात्रुहरुको वालेटमा फिर्ता गर्ने अफर ल्याएको हो। यसलाई ‘गाईजात्रे क्यासब्याक अफर’ नाम दिइएको छ।

कम्पनीले जनैपूर्णिमा, रक्षाबन्धन तथा गाईजात्राको अवसर पारेर यही साउन ३० र ३१ गते दुई दिन दिउँसो १२ बजेदेखि ३ बजेभित्र ईजी-ट्याक्सी नेपाल एपमार्फत ट्याक्सीमा यात्रा गर्ने यात्रुहरुलाई सो रकम फिर्ता योजना ल्याएको हो।

पछिल्लो दिनहरुमा एपमार्फत् इजी-ट्याक्सी नेपाल प्रयोग गर्ने ग्राहकहरुको संख्यामा भएको वृद्धिसँगै कम्पनीले आफ्ना यात्रुहरुको लागि नयाँ अफर सार्वजनिक गरेको हो। फिर्ता भएको क्यासब्याक रकम यात्रुहरुले अर्को ट्याक्सी राइडमा प्रयोग गर्न सक्नेछन्।

गाईजात्रे अफरअन्तर्गत इजी-ट्याक्सी नेपालका एप्समार्फत ट्याक्सीमा यात्रा गर्ने यात्रुहरुका साथै चालकहरुका लागि समेत अफर घोषणा गरेको छ । जसअन्तर्गत चालकहरुले सो एपमार्फत यात्रुहरुलाई जति किलोमिटर यात्रा गराउँछ त्यति धेरै रकम आम्दानी गर्नसक्ने सुविधा दिएको छ। चालकहरुका लागि प्रतिकिलोमिटर २ रुपैयाँका दरले चालकहरुको वालेटमा रकम फिर्ता हुनेछ।

इजी-ट्याक्सी नेपालका अपरेसन हेड दामोदर श्रेष्ठले इजी-ट्याक्सी नेपालका प्रयोगकर्ता यात्रुहरुलाई थप सुविधा दिने उद्देश्यले यो योजना ल्याएको जानकारी दिए।

इजी-ट्याक्सीले फिर्ता दिने रकम बैंक एकाउन्टमा समेत ट्रान्सफर गर्न सकिने सुविधा रहेको छ। इजी-ट्याक्सी नेपालको गाईजात्रे क्यासब्याक अफरमा यात्रुहरुलाई भने अधिकतम २ सय रुपैयाँसम्म मात्र प्राप्त हुनेछ।

इजी-ट्याक्सी नेपालमा आबद्ध सम्पूर्ण ट्याक्सी चालकहरुका लागि ५ लाख रुपैयाँको दुर्घटना बीमा गरिएको छ भने चालकका परिवारको सुरक्षाको लागि पनि बीमा योजना ल्याउने तयारी रहेको कम्पनीले जनाएको छ।