धनगढी- भारतको टाटा कम्पनीमा काम गरेर धनगढी फर्किएका थिए, कृष्णबहादुर ठगुन्ना। डोटीबाट धनगढी निस्किएका अर्जुन जोराको भेट ठगुन्नासँग भयो, २०५० सालमा। जति बेला उनको उमेर थियो, १५।
अर्जुनले पाँच वर्षसम्म ठगुन्नाका लागि खाना पकाउने, लुगा धुने काम गर्दागर्दै गाडी मर्मतको काम सिके। बिस्तारै उनी गाडी मर्मतको काममा लागेपछि साहुले मासिक पाँच सय रुपैयाँ पारिश्रमिक दिन थाले।
जोरा यस क्षेत्रमा लाग्दा मेकानिकमा काम गर्ने नेपाली चार जना मात्र थिए। धेरैजसो भारतीय नागरिक।
‘घरको आर्थिक अवस्थाले पढ्न सक्ने अवस्था थिएन, बुवाले मलाई कृष्ण सरको जिम्मा लगाउनुभयो,’ अर्जुनले विगत सम्झिए, 'उहाँ (कृष्ण) ग्यारेजमा गाडी बनाउने काम गर्नुहुन्थ्यो। म चाहिँ उहाँको लागि खाना पकाउने, लुगा धुने काम गर्थे । पाँच वर्षसम्म त विना पारिश्रमिक त्यही काम गरेँ।
उनै अर्जुनले अहिले धनगढी आफै ग्यारेज सञ्चालन गरेका छन्। उनले एक जना कामदार पनि राखेका छन्। ‘गाडी बनाउने काममा घर खर्च छोडेर दुई लाख कमाएको थिएँ। त्यही पैसाले ५ वर्षअघि ग्यारेज सुरु गरेको हुँ,' उनी गर्वसाथ भन्छन्।
OOO
१० वर्षसम्म ठगुन्नासँगै काम गरेका जोराको पछि विवाह भयो। ‘अरु काम गरुँ सिप थिएन। गाडी मर्मत गर्ने काम सुरु गरेँ,' जोरा भन्छन्।
विवाहपछि उनले गाडी मर्मतमा चाहिने रेन्च, प्लास लगायतका सामग्री खरिद गरे। सुरुमा आवश्यक पर्ने अन्य सामग्री अरुकै ग्यारेजबाट सापटी लिएर जान्थे। उनको सिपले बिस्तारै मासिक ४० देखि ५० हजारसम्म कमाउन थाल्यो।
गाडी बनाउने काम उनका लागि सहज भने थिएन। 'गाडी मुनिको जीवन हो। जोखिम मोलेर मर्मत गर्नुपर्छ। कहिले हात भाँचिन्थ्यो त कहिले शरीरका विभिन्न भागमा चोट लाग्थ्यो,' उनी भन्छन्।
गाडी मर्मत गर्न जाँदाको एउटा घटना उनी अझै सम्झिन्छन्। २०६७/६८ सालतिरको कुरा हो। 'कैलालीको भाँसुमा गाडी बिग्रिएको थियो। चालकले फोन गरेर मलाई बोलायो,' उनले भने, 'म धनगढीबाट त्यसतर्फ मोटरसाइकलमा जाँदा दुर्घटना भयो। म दुई महिना घरमै बस्नुपर्यो।’
गाडी लाइनमा जोखिममात्र नभई आनन्द पनि हुने गरेको उनको अनुभव छ। मेहनतसँग काम गर्नेहरु राम्रै कमाइ गर्छन्। 'आफन्तहरुबाट टाढा पनि बस्नुपर्ने अवस्था आउँदैन। नयाँनयाँ साथीहरुसँग चिनजान हुन्छ,’ उनले भने।
गाडी चालकहरुले नै हौसला दिएपछि आफूले ग्यारेज खोलेको जोरा बताउँछन्। 'अरुको ग्यारेजमा काम गर्दै जाँदा ड्राइभरहरुले मलाई आफ्नै ग्यारेज खोल्, तँलाई के सहयोग गर्नुपर्छ हामी गर्न तयार छौं भने,' उनले सुनाए।
अहिले जोराको ग्यारेजमा महिनामा ३० वटा गाडी नियमित मर्मतका लागि आउने गरेका छन्। अन्य गाडीको मर्मतमा पनि उनी खटेकै हुन्छन्। ग्यारेजबाटै कमाएको रकमले उनले धनगढीमा जग्गा किनेर घरसमेत निर्माण गरिसकेका छन्।
यो संवाददाता पुग्दा सेतो गन्जी र हाफ पाइन्टमा बिग्रिएको गाडीमुनि सुतेर जोरा इन्जिन जाँच गरिरहेका थिए। गाडीका पार्टपुर्जा निकाल्दै सफा गर्दैमा उनलाई बोल्न पनि फुर्सद थिएन।
उनले गाडीको इन्जिन तथा अन्य पार्टपुर्जा मर्मत गर्ने कार्यका लागि न कुनै संस्थाबाट तालिम लिएका छन्, न यो विषयको पढाइ नै गरेका छन्। उनले आफ्नै प्रयासबाट अटोमोबाइल रिपेयरिङ काममा निपुणता हासिल गरेका छन्।
‘यो क्षेत्रमा मेहनत लगाएर काम गर्ने हो भने विदेश जानु पर्दैन,’ उनी भन्छन्, 'सिप भएका मान्छेलाई यो पेसामा स्वरोजगार हुन गाह्रो छैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।