काठमाडौं- कुनै समय आर्यन सिग्देल नेपाली फिल्मको ‘अनिवार्य माग’जस्तै थिए। निर्माता–निर्देशकहरू उनलाई फकाई–फकाई अफर गर्थे। ‘चकलेटी हिरो’का रुपमा उनको छवि निकै प्रख्यात थियो। उनकै नामले सिनेमा हलमा दर्शकको ओइरो लाग्थ्यो।
तर, त्यो समय अहिले अभिनेता सिग्देलका लागि ‘ती दिन’ भइसके। पछिल्लो समय उनको अभिनय करिअर दिनप्रतिदिन आरालो लाग्दै गएको छ। नेपाली फिल्ममा अनमोल केसी, प्रदीप खड्कालगायतका चकलेटी हिरोको प्रवेशसँगै उनको स्टारडमको चर्चा हराउँदै गएको छ। हलमा उनका फिल्म लगातार फ्लप हुनुले पनि यस्तै संकेत गर्छ।
आफ्नो गुमेको चर्चा र स्टारडमलाई फर्काउने उनले कुनचाँहि जुक्ति लगाएनन् र! ‘होमवर्क’ फिल्ममा आफूलाई पाका उमेरमा उतारेर प्रस्तुत गरे। तर, त्यसलाई पनि दर्शकले रुचाइदिएनन्।
बजारमा साम्राज्ञी राज्य लक्ष्मी शाहको माग र चर्चा बढिरहेको थियो। त्यही समयलाई पक्रँदै उमेरले आफूभन्दा निकै कान्छी साम्राज्ञीराज्य लक्ष्मी शाहसँग जोडी बाँधेर ‘कायरा’मा अभिनय पनि गरे। तर, त्यो जुक्तिले पनि उनको स्टारडम फर्काउन सकेन।
त्यसपछि अभिनेत्री रेखा थापासँगको तित्ततालाई मित्रतामा परिणत गर्दै ‘रुद्रप्रिया’मा अभिनय गर्न तयार भए, तर पर्दामा त्यो ‘कमब्याक जोडी’पनि असफल देखियो।
यद्यपि, लगातार असफल देखिए पनि आर्यनले हार खाएका छैनन्। उचाई फर्काउने प्रयास जारी छ। आज(बिहीबार)बाट प्रदर्शनमा आएको उनको फिल्म पनि त्यही आशाको निरन्तरता हो।
यो फिल्मको मूल कथा नै उनले निर्वाह गरेको पात्रसँग सम्बन्धित छ। विशुद्धः प्रेमकथामा भनिएको यो फिल्म एउटा पुरुषको कथा हो, जो आफ्नो गुमेको प्रेम खोज्नलाई पोखरादेखि सिक्किमसम्म यात्रा तय गर्छ। हराएको प्रेम खोज्ने क्रममा आइपर्ने संघर्षमा नै फिल्म केन्द्रित छ।
यो फिल्म प्रमोसन ताका आर्यनले मिडियामा दिएका अभिव्यक्ति हेर्दा लाग्छ, उनले यो फिल्मबाट ठूलो आशा राखेका छन्। कामना त उनको यो आशा यथार्थमा परिणत होस् भन्ने नै हो। तर के थाहा– यो फिल्मले पनि उनको ‘असफल फिल्म’को सूची बढाउन मात्रै सघाउने हो कि?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।