काठमाडौं – पाँचौँ एभिसी एसियन सेन्ट्रल जोन पुरुष भलिबलको तयारीका लागि अफगानिस्तानसँग खेलिएको दोस्रो तयारी खेलमा नेपाल ३-२ ले विजयी भएको छ। लगातार दुई सेट हारेको नेपालले खेलमा फर्कंदै लगातार तीन सेट जितेको हो।
आर्मी शारीरिक तालिम तथा खेलकुद केन्द्र लखनखेलमा भएको खेलमा नेपालले लगातार दुई सेट हारेर तेस्रो सेटमा वापसी गरेको थियो।
पहिलो सेट २२-२५ र दोस्रो सेट १५-२५ ले हारेको खेलमा नेपालले तेस्रो सेट २६-२४ ले जितेको थियो। दोस्रो सेटमा कमजोर देखिएको नेपालले प्रतिस्पर्धात्मक तेस्रो सेटमा राम्रो खेलेको हो।
यस्तै चौथो सेटको खेल पनि रोमाञ्चक थियो। २४-२४ को बराबरीमा पुगेको चौथो सेटमा नेपालले लगातार दुई अंक ल्याउँदै २४-२६ ले जितेको हो ।
खेल हेर्न उपस्थित दर्शकको निरन्तरको हुटिङपछि नेपाली टोली तेस्रो र चौथो सेटमा खेलमा फर्किएको थियो।
अन्तिम निर्णायक सेटमा १५-१२ ले जित्दै नेपालले दुवै अभ्यास खेलमा अफगानिस्तानलाई हराउन सक्यो।
चोटका कारण नेपाली टोलीका कप्तान इमबहादुर रानाले खेल खेलेका थिएनन्। यस्तै भरपर्दा खेलाडी धनबहादुर भट्ट पनि दोस्रो अभ्यास खेलमा बाहिर नै थिए।
अभ्यासको पहिलो खेलमा बुधबार नेपालले अफगानिस्तानलाई ३-२ को सेटमा हराएको थियो।
बुधबार पहिलो सेट २५-२२ ले हारेको नेपालले दोस्रो सेट २५-१७ ले जितेको थियो। तेस्रो सेट २५-२१ ले जितेको नेपालले चौथो सेट २५-२३ ले गुमाउन पुग्यो। अन्तिम सेटमा राम्रो खेल्दै १५-१३ ले जित्दै नेपालले पहिलो खेलमा हराएको थियो।
पाँचौँ एभिसी एसियन सेन्ट्रल जोन भलिबल भदौ २ गतेदेखि ७ गतेसम्म हुने छ।
नेपाल भलिबल संघको आयोजना र एसियन भलिबल संघको संयोजनमा हुने प्रतियोगितामा नेपालसहित साविक विजेता तुर्किमिनिस्तान, बंगलादेश, माल्दिभ्स, अफगानिस्तान, किर्गिस्तान र उज्वेकिस्तान सहभागी हुने छन्।
प्रतियोगिताका लागि १४ सदस्यीय नेपाली टोलीमा आर्मीका धनबहादुर भट्ट क्षेत्री, राजेन्द्र विष्ट, हरिबहादुर अधिकारी, दुर्गा खड्का, नरेन्द्र गिरी, हरिहजुर थापा र ईश्वर थापा मगर साथै नेपाल पुलिसबाट विशाल बिक, कुलबहादुर थापा, दिपक राज जोशी र कप्तान इमबहादुर मगर रहेका छन्। यस्तै एपिएफका टेकराज अवस्थी, राजकुमार निरौला र विनोद बहादुर चन्द पनि टोलीमा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।