मेरो जन्म काश्मीरको एक पण्डित परिवारमा भएको हो। आतंकको 'त्यो समय'मा काश्मीरबाट पण्डितहरूलाई पलायन गराइयो। मैले त्यो दिन आफ्नै आँखाले देखें। आतंकको समयमा बाँच्न कति मुस्किल हुन्छ भन्ने कुरा म राम्रोसँग राम्रोसँग महसुस गर्न सक्छु।
मेरो उमेर ५ वर्ष मात्र हुँदा काश्मीरबाट मेरो परिवार पलायन गराइएको थियो। सडकमा लागेको त्यो कर्फ्यू, मुख्य बाटो छोडेर भित्री गल्लीबाट आफ्नो घरसम्म लुकेर पुग्नुपर्ने त्यो अवस्था। अश्रुग्याँसका गोला, बन्दुक बोकेका मानिसका पहरेदारी र कति बेला दोहोरो भिन्डन्त होला भन्ने त्रास आम जनतासम्म फैलिएको त्यो घटना मलाई राम्रोसँग याद छ।
आतंकवादीहरू हाम्रो घरमा बन्दुक लिएर घुसेको घटन अझसम्म पनि मलाई ताजै छ। त्यो रात र अरू पनि कैयौं रात हामी सुत्न सकेनौं। शरीर नै काम्ने त्यो काश्मीरको जाडो रात हामी सँधैका लागि उक्त क्षेत्र छोडेर हिँडेको म कहिल्यै बिर्सन सक्दिनँ। आज पनि उक्त रातको याद आइरहन्छ।
काश्मीरबाट जबरजस्ती पलायन गराइएको आज लगभग ३० वर्ष पुगेछ। यत्रो समय भईसक्दा पनि मैले उक्त दिनको त्यो डरलाग्दो घटना बिर्सन सकेको छैन।
आज सम्म मेरो मन र दिमागमा यो कुरा ताजा छ भने सोचिहेरौं काश्मीरमा अहिले बन्दुक हेरेर हुर्केका बच्चाले के सोच्छन् होला? सोचिहेरौं दुश्मन भनेर बन्दुकले निशाना ताकेको हेरेर हुर्केको अबोध बच्चाको मानसपटलमा के हुन्छ होला?
ती कश्मीरी युवाहरू, जसलाई कसरी खुशी होला? जसलाई आतंकवादी भएको शंकामा हिरासतमा राखिन्छ?, कस्तो महसुस होला ती कश्मीरी महिला जसको पति या जवान छोरा कहिल्यै हिरासतबाट फर्केर आउँदैन?
कश्मीरी पण्डितको ढाल बनाइँदैछ
मलाई थाहा छैन तपाईलाई यो प्रश्नले कति गर्छ कि गर्दैन तर काश्मीरको त्रासदी झेल्ने एक काश्मीरीका रुपमा मलाई यो प्रश्नले बेचैन गराइरहन्छ।
यत्रो पीडामा पनि उत्सव मनाउने ती मानिसदेखि मलाई पीडा गराउँछ। काश्मीरी पण्डितको ढाल बनाएर काश्मीरीका मुसलमानहरुमाथि हुने ज्यादती सही ठहराउने कार्य आजसम्म जारी छ। जब साम्प्रदायिक घृणा बढ्ने गर्दछ, तब काश्मीरबाट विस्थापित भएका पण्डितलाई देखाएर मुसमानमाथि अत्याचार गरिन्छ, तब त झन् धेरै पीडा हुन्छ।
एक काश्मीरी पण्डित हुनुका नाताले जोडदार रुपमा म यसको प्रतिकार गर्दछु। मेरो पहिचानका नाममा कसैले केही गरी अन्याय प्रमाणित गर्न खोज्छ भने म त्यसको हिस्सा बन्न मञ्जुर गर्न सक्दिनँ। पीडित हुनुको अर्थ यो होइन की, अरु कसैको विनासको उत्सव मनाऊँ। मलाइ यो देखेर दुःख लाग्छ म र मेरो पीडाको प्रयोग मानवताविरुद्ध प्रयोग भइरहेको छ।
सबै प्रकारका उत्पीडन गलत हुन्। जुनसुकै समुदायमाथि गरिएका उत्पीडनलाई सही ठहर गर्न सकिँदैन। मानिस अहिले यो कुरा पत्याउन तयार छैनन्। बदला र न्याय एकै होइन। मुसलमान पीडित हुनु काश्मीरी पण्डितहरुका लागि न्याय होइन, यसलाई समयमा सम्झन जरुरी छ।
काश्मीर जमीनको टुक्रा मात्र होइन
‘जैसी करनी वैसी भरनी’ अर्थात् जस्तो गर्यो उस्तै भोग्नुपर्छ’ शैलीमा केही प्रश्न गरिन्छ। काश्मीरमा चैन गुमाएका पण्डित हुन् वा मुसलमान पीडा एकै हो।
संविधानको धारा ३७० खारेज भएको घोषणा हुने बित्तिकै सामाजिक सञ्जालमा घृणाको आँधी देखियो। काश्मीरी जनता विरुद्धमा धेरै बयान समेत आए। अनेक टिका टप्पणी भए। नेताहरुले काश्मीरी युवतीमाथि निकै शर्मलाग्दो टिप्पणी गरे।
सामाजिक सञ्जालमा काश्मीरी युवतीमाथि भद्दा, अश्लील टिप्पणी र मजाक गरियो। कयौं मानिसले यस्तै अश्लीलतामा आनन्द लिइरहेका थिए।
यहाँसम्म कि यस्ता किसिमका भद्दा र अश्लील गीत समेत बनाएर गाउन थालियो। तपाई विश्वास गर्नुस् यस प्रकारको भद्दा र अश्लीलता घृणा गर्न कुनै हिन्दू वा मुसलमान हुन जरुरी छैन। एक सच्चा मानिश भए हुन्छ। अझ भनौं एक सच्चा काश्मीरी भए पुग्छ।
काश्मीरीमाथि त्यस्ता मानिस टिप्पणी गरिहरेका थिए, जो न काश्मीरको इतिहास जान्दथे, न कश्मीरीयत। यस्ता मानिसका लागि कि त काश्मीरको जमिनको टुक्रा आवश्यक छ, कि त काश्मीरी युवती। मलाई यसो भन्नुमा कुनै संकोच छैन। यी मानिस तीनै हुन्, जो कुनै समयमा काश्मीरी पण्डितको बर्बादीको तमासा हेरेर बसेका थिए र यसैगरी टिप्पणी गर्दै आएका थिए। त्यसलाई रोक्न उनीहरुको कुनै योगदान भएन।
तर विडम्बना आज प्रत्येक कुरामा काश्मीरी पण्डितको विस्थापनलाई जोडेर उनीहरु नै अग्रमोर्चामा आएका छन्। यस्ता पार्टीहरू, संगठनहरू र मानिस, जो काश्मीरी पण्डितको सल्लाहकार बन्दैछन्, उनीहरूलाई हाम्रो पीडाले कुनै अर्थ राख्दैन। उनीहरू त केवल मोहराको रुपमा काश्मीरी पण्डितलाई प्रयोग गर्न र आफ्नो राजनीति सेक्ने काम गर्दछन्। काश्मीर छोडेको मलाई आज पनि कोही काश्मीरी भाषा बोलेको देख्दा आफ्नोपनको महसुस हुन्छ।
कश्मीरीयत कलंकित बनाइयो
अहिले कश्मीरीयत र त्यहाँको साझा सांस्कृतिक पहिचानको नष्ट गर्ने प्रयास भइरहेको छ। काश्मीरको पूरा मुद्दा भारत भर्सेस् पाकिस्तान र काश्मीर पण्डित भर्सेस् काश्मीर मुसलमानको मुद्दा जबरजस्ती रुपमा बनाइँदै छ। भारतले काश्मीर विरुद्ध जनमत बनाउने प्रयास समेत गरिरहेको छ।
काश्मीरको राजनीतिक मुद्दा साम्प्रदायिक मुद्दामा परिवर्तन भएको छ। यो त्रासदी हो। काश्मीरको त्रासदी अहिले त्यहाँका पण्डित र मुसलमान दुबैले झेल्नु परेको छ।
काश्मीरी पण्डितविरुद्ध भएको त्यो अन्याय र ज्यादती नै थियो। तर अहिले त्यही काम काश्मीरी मुसलमानका साथ भईरहेको छ। यो अन्यायलाई कसरी सही भन्न सकिन्छ?
काश्मीरीयत काश्मीरको असल समय हो। यो शुभमुर्हत पनि हो। यही कश्मीरीयतलाई धार्मिक चोला भनेर बयान गर्नेहरू अहिले यही कश्मीरियतलाई नै दाग लगाउँदै छन्। ती चाहे हिन्दू हुन वा मुसलमान नै किन नहुन्। सच्चा काश्मीरी हुनुका नाताले म यस किसिमका कार्यको जोडदार विरोध गर्दछु। काश्मीरको पहिचान एक सुन्दर भूमिको टुक्रा मात्र होइन, त्यहाँका महिला पनि होइनन्। उसको पहिचान त्यहाँ बस्ने मानिस र ती मानिसहरुसँग मात्र छ, जो कश्मीरीयत मससुस गर्न सक्छन्।
(बिबिसी हिन्दीमा प्रकाशित यो सामग्री नेपाल लाइभका दुर्गा दुलालले भावानुवाद गरेका हुन्।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।