काठमाडौं- दिवङ्गत आफन्तको सम्झना तथा उनीहरूको आत्मशान्तिका लागि हरेक वर्षको भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा पर्व सुरु भएको हो। नेवार समुदायले बिहानैदेखि गाईजात्रा निकालेका छन्। गाई, कुमारी कन्या र माटोको गाई निर्माण गरी टोलटोल घुमाइँदैछ।
उपत्यकामा गाईजात्राको प्रमुख आकर्षण घिन्ताङकिसी र माक प्याख नाच भएकाले गाईजात्रा हेर्नेहरुको भिड बिस्तारै बढ्दो छ।
भक्तपुरमा भने तलेजुस्थानबाट नगरवासीले बिहानै तलेजुको ताहामचा बनाई परिक्रमा गराएपछि सात दिनसम्म पर्व मनाइन्छ।
आजको मुख्य जात्रापछि यहाँ सात दिनसम्म घिन्ताङकिसी नाच र व्यङ्ग्य प्रदर्शन गरी पर्व मनाइने परम्परा छ। जात्रा बिहानैबाट सुरु भए पनि मध्याह्नपछि टोलटोलबाट एकसाथ आकर्षक घिन्ताङकिसी नाचसहित गाईजात्रा निकाल्ने तयारी छ।
हिन्दु धर्मग्रन्थ पद्मपुराणमा उल्लेख भएअनुसार यमलोकको मुख्यढोका वर्षभरि बन्द रहने र मर्त्यलोक अर्थात् पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने तथा मृतात्माले यमलोक प्रवेश पाई मुक्ति पाउने संस्कृतकर्मी रामशेखर श्रेष्ठ बताउँछन्। गाईलाई नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ।
पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन राजा प्रताप मल्लले 'जनतालाई आ–आफ्नो मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनु' भनी आज्ञा दिएपछि गाईजात्रा सुरु भएको मान्यता छ। घरघरबाट गाईजात्रा निकाले पछि पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरुप सो प्रचलन चलेको हो भन्ने जनविश्वास छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।