राजविराज– सप्तरीको बोदेवरसाइन नगरपालिका–२, जोगिया निवासी रामसेवक यादव (मुसहरु) का १० वर्षीय छोरा वैद्यनाथ कुमारलाई साउन ६ गते साँझ सर्पले टोक्यो। आमा पवनीदेवीलाई त्यस विषयमा बालकले जानकारी पनि गराए। तर, हातमा रगत देखिएपछि मुसाले टोक्यो होला भन्ने सोचेर उनले खासै वास्ता गरिनन्।
केही समयपछि नै बालकको अवस्था बिग्रँदै गयो। धामी बोलाएर झारफुक गर्ने तयारी गर्दागर्दै समय लाग्यो। बालकको अवस्था झन् बिग्रन थालेपछि वैद्यनाथलाई अस्पताल लाने तयारी हुँदै थियो। निकै लामो समय बितिसकेकाले सर्पको विष फैलिएर अस्पताल नपुर्याउँदै बालकको मृत्यु भयो।
वैद्यनाथको मृत्यु भएको एक दिन बित्न नपाउँदै छिमेकी शम्भुनाथ नगरपालिका–२ का देवु सरदारकी २ वर्षीया छोरी दीपालाई साउन ७ गते घरमै गोमन सर्पले टोक्यो। परिवारका सदस्यले उनलाई पनि तत्काल अस्पताल पुर्याउन सकेनन्। समयमा उनको पनि उपचार हुन पाएन। अवस्था झनै बिग्रन थालेपछि अस्पताल लाने तयारी गर्दागर्दै उनको पनि मृत्यु भयो।
यसैगरी, जेठ १७ गते कञ्चनरुप नगरपालिका–११, ठेलिया निवासी जोगिन्दर रामका छोरा ७ वर्षीय भुवनेश्वरलाई सर्पले टोक्यो। घरमै खेलिरहेका बालकलाई सर्पले टोकेको कसैले सुइँकोसम्म पाएनन्। राति करिब ११÷१२ बजे बालकको स्वास्थ्य अवस्था बिग्रियो।
स्थानीय धर्मेश्वर अस्पतालमा भर्ना गरिएका बालकलाई सर्पले टोकेको पत्ता चाहिँ लाग्यो, तर उपचार गर्न नसक्ने जनाउँदै स्वास्थ्यकर्मीले अन्यत्रै लान सल्लाह दिए। हस्याङ्फस्याङ् गर्दै सुनसरीको इटहरीस्थित नेपाली सेनाको सर्पदंश उपचार केन्द्रमा पु¥याइएका उनको सोही क्रममा मृत्यु भयो।
यति मात्रै होइन, सप्तरीमा पछिल्लो समय सर्पदंशका घटना दिनप्रतिदिन बढिरहेका छन्। तर घरपरिवारका सदस्य तथा स्वयंले बेवास्ता गर्दा उपचार नपाई मर्नेको संख्या पनि बढिरहेको छ। सर्पदंशका कारण मर्नेको संख्या यकिन नभए पनि धाँमीको भर तथा बेवास्ताका कारण धेरैले अकालमै ज्यान गुमाउनु परिरहेको जानकारहरु बताउँछन्।
चार महिनामै साढे ४ सयको उपचार
सप्तरीमा राजविराज र खडक नगरपालिका–७, स्थित कल्याणपुरमा सर्पदंशको उपचार हुने गरेको छ। राजविराजमा गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल तथा कल्याणपुरमा नेपाली सेनाको राजविराजस्थित भीमदल गणको प्राविधिक सहयोगमा सर्पले टोकेका बिरामीको उपचार हुन्छ।
अञ्चल अस्पतालमा लामो समयदेखि सर्पदंशको उपचार हुँदै आए पनि कल्याणपुरमा भने गत वैशाखदेखि मात्रै सर्पदंशको उपचार हुँदै आएको मेजर निर्मल दाहालले जानकारी दिए। केन्द्रको औपचारिक उद्घाटन भने असार १७ गते मात्रै भएको हो। उद्घाटनपछि जम्मा ६४ जना सर्पदंशका बिरामी उपचारका लागि भर्ना भएको उनले जानकारी दिए। जसमध्ये ३ जना विषालु सर्पले टोकेका र १५ जना बिच्छीले टोकेर उपचारका लागि भर्ना भएको केन्द्रले जनाएको छ।
यसैगरी अञ्चल अस्पतालले वैशाखदेखि साउन २९ गतेसम्म जम्मा २ सय ९२ जनाको उपचार गरेको छ। वैशाखमा १८, जेठमा ७१, असारमा ११० र साउनको २९ सम्म ९३ जनाको उपचार गरिएको मेडिकल सुरपरिटेन्डेन्ट चुमनलाल दासले जानकारी दिए। जसमध्ये जेठमा २, असारमा ३ र साउनमा २ गरी गम्भीर अवस्थाका ७ जनालाई अन्यत्र रेफर गरिएको उनले बताए।
यसबाहेक सुनसरीको धरान, मोरङको विराटनगर तथा सिरहाको लहानमा पनि बिरामी लाने गरिएकाले संख्या अझै बढी हुनसक्ने अस्पताल र केन्द्रले जनाएको छ।
झारफुककै भर
सप्तरीमा पछिल्लो समय सर्पको बिगबिगी छ। तर सर्पले डस्दा अझै पनि अस्पताल जानेभन्दा पनि झारफुक गर्ने प्रवृत्ति कायमै रहेकाले बिरामीको ज्यान जोखिममा पर्ने गरेको छ । ‘सर्पले टोकेपछि अस्पताल आउनुको साटो झारफुक गर्न धाँमी खोज्ने चलन अझै पनि घटेको छैन,’ उपचार केन्द्रका मेजर दाहाल भन्छन्, ‘सप्तरीमा ९० प्रतिशत बिरामी पहिला धाँमी, त्यसपछि मात्रै उपचारका लागि अस्पताल पुग्छन्।’
यही प्रवृत्तिले सर्पदंशका कतिपय घटनामा बिरामीले ज्यान गुमाउनु परेको उनको बुझाइ छ। ‘सबै सर्प विषालु हुँदैनन्, सप्तरीमा ६० प्रतिशतभन्दा बढी ननपोइजनस घटना हुन्छन्,’ उनी भन्छन्, ‘ती ६० प्रतिशत बिरामी घरमै बसे पनि मर्दैनन्। यिनै घटनामा धाँमी र झारफुकको भ्रम पर्छ र विषालु सर्पले टोकेका बिरामीले ज्यान गुमाउँछन्।’
सेनाले उपचार केन्द्र सञ्चालन गरेपछि सप्तरीका अधिकांश क्षेत्रबाट बिरामी आइरहेको र त्यसमा पनि खडक र बोदेवरसाइन नगरपालिकामा सर्पदंशका घटना बढी देखिएको दाहालले बताए। सप्तरीमा ढोडिया, साखड, चिचिन्डे, धामन, हरहरा लगायतका विष नभएका तथा गोमन, करेत, भाइपर (सुगासाप) लगायतका विषालु सर्पले टोकेका बिरामी धरै आउने गरेको केन्द्रका प्राविधिक सन्तोष पौडेलले बताए। ‘धेरैजसो घाँस काट्न जंगल गएका बेला र राति शौचालय जाँदा सर्पले टोकेका घटना धेरै छन्, सावधानी अपनायो भने घटना कम हुन्छन्।’
यसरी चल्दै छ, सर्पदंश उपचार केन्द्र
सर्पले टोकेर अकालमै ज्यान जान थालेपछि उपचार केन्द्र सञ्चालनका लागि कल्याणपुरका स्थानीयबासीले नेपाली सेनालाई आग्रह गरे। सोही आग्रह बमोजिम गत वर्ष फागुन २७ गते भएको सम्झौता अनुसार राजविराजस्थित भिमदल गणले कल्याणपुरस्थित खानेपानी कार्यालयको भवनमा बिरामीको उपचार गरिरहेको छ।
वैशाखदेखि सेवा प्रारम्भ गरेको उपचार केन्द्र असार १७ गते उद्घाटन भयो। हाल तीन बेडबाट सेवा सञ्चालन छ। वीरेन्द्र सैनिक अस्पतालबाट तालिमप्राप्त सेनाका प्राविधिकहरु पौडेल, चन्द्र कठायत, दीपक कठायत र डम्बरध्वज चन्दले बिरामीको उपचार गरिरहेका छन्।
केन्द्र सञ्चालन र व्यवस्थापनका लागि स्थानीय उसमान मियाँको संयोजकत्वमा १३ सदस्यीय सञ्चालन तथा व्यवस्थापन समिति गठन गरिएको छ। समितिले चन्दा संकलन गरेर खरिद गरेको औषधिले नै हाल उपचार भइरहेको मेजर दाहालले जानकारी दिए। सर्पदंशका बिरामीको उपचार हुन थालेपछि स्थानीयबासी खुसी भएका छन्।
५० लाख दिने सांसदको प्रतिवद्धता
नेपाली सेनाको प्राविधिक सहयोग र स्थानीयले चन्दा संकलन गरी खरिद गरेको औषधिले सञ्चालन भइरहेको केन्द्रमा भौतिक पूर्वाधार र औजार उपकरणको अभाव छ।
खानेपानी कार्यालयमा नगरपालिका कार्यालयकै भवन बनाउन डिपिआर स्वीकृत भएकाले भविष्यमा स्थान र भौतिक पूर्वाधारको समस्या आउनसक्ने स्थानीयहरु बताउँछन्। यसैगरी, प्यासेन्ट मोनिटर, इसिजी मेसिन लगायतका केही उपकरणको समेत अभाव छ।
यसै सन्दर्भमा मंगलबार व्यवस्थापन समितिले बोलाएको सांसद र नगरपालिकाका पदाधिकारी सहितको सर्वपक्षीय बैठकमा निर्वाचित सांसद तेजुलाल चौधरीले भवन बनाउन ५० लाख सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्। बैठकले खडक नगरपालिका ६ को बागमारास्थित सरकारी जग्गामा केन्द्रका लागि भवन बनाउन प्रस्ताव गरेपछि सांसद चौधरीले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत चालू आर्थिक वर्षको ४ करोड मध्येबाट ५० लाख छुट्याउने प्रतिवद्धता जनाए।
यसैगरी, औषधि उपकरणसहित तत्कालका समस्या समाधान गर्न र तीन वर्षभित्र भवन निर्माण गरिदिन नगरपालिका तयार भएको मेजर दाहालले बताए। हाइड्रो व्यवसायी वीरेन्द्र न्यौपानेले वार्षिक ५० हजार सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्। उनी प्रदेश सांसद गोविन्दबहादुर न्यौपानेका भाइ हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।