काठमाडौं- एप्लिकेसनमार्फत ट्याक्सी सेवा उपलब्ध गराएबापत उपभोक्ताबाट बढी रकम असुलेको प्रति नेपाल विद्यार्थी संघले आपत्ति जनाएको छ। संघले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तो आपत्ति जनाएको हो।
इनोभेसनलाई प्रत्सोहन गर्ने नाममा मजदुरको जीविकोपार्जनमा असर पर्न नहुने संघको भनाइ छ।
हाल नेपालमा बंगालादेशी कम्पनी पठाओले मोटरसाइकलपछि एपमार्फत ट्याक्सी भाडामा लगाउने प्लेटफर्म सञ्चालन गर्दै आएको छ। नेपालको कानुनले निजी सवारी भाडामा प्रयोग गर्न नपाइने व्यवस्था गरेको भए पनि पठाओले उक्त कार्य एक वर्ष अघिदेखि गर्दै आएको हो।
टुटलले सुरु गरेको भाडामा मोटरसाइकलमा यात्रु बोक्ने प्लेटफर्म त्यसको केही समयपछि बंगालादेशी कम्पनी पठाओले पनि नेपालमा सुरु गरेको थियो। गैरकानुनी रुपमा भाडामा यात्रु बोक्ने काममा मोटरसाइकल प्रयोग भएको भन्दै यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कारबाही सुरु गरेका थिए। तर प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा यस्तो सेवा पुनः निर्वाध रुपमा चलिरहेको छ।
मोटरसाइकलमा अवैध काम गरेको पठाओले ट्याक्सीमा समेत त्यस्तै नीति लिएको हो। विद्यमान कानुन अनुसार भाडाका सवारी सञ्चालन गर्न यातायात व्यवस्था विभागसँग अनिवार्य अनुमति लिनुपर्छ। पठाओले अनुमति त लिएको छैन नै सरकारले तोकेको भन्दा एक सय रुपैयाँ अतिरिक्त शुल्कसमेत उपभोक्ताबाट असुल गरिरहेको छ।
नेविसंघले उक्त कुरालाई लिएर आफ्नो संघठनको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। 'प्रविधिलाई प्राथमिकता दिने नीति हुँदाहुँदै चार सय प्रतिशतभन्दा बढी रकम असुलेर स्टार्टअप, इनोभेसन, डिसरप्सन जस्तो संज्ञा दिएर केही प्रतिष्ठित व्यक्तिहरुको भावनात्मक साथ सहयोग लिएर कर छली र कालोबजारीको नियतवश कालो धन जोड्ने कार्य निमय कानुनप्रति बलमिच्याइँ भएको' नेविसंघ प्राविधिक विद्यार्थी परिषद्का निवर्तमान संयोजक मेली शाहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
नेविसंघले त्यस्ता एपमार्फत सञ्चालित व्यवसायलाई कानुनको दायरामा ल्याई सेवा दिने व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ। सबैलाई समुचित न्याय हुने गरी कानुनी व्यवहाल गर्दै उचित नियम र कानुनको तर्जुमा गरी इनोभेसन सोचलाई संरक्षण र प्रोत्साहन गर्न नेपाल सरकारसमक्ष संघले अपिल गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।