प्रधानमन्त्री ओलीले भने– अबको २५ वर्ष केही हुँदैन, म बिरामी होइन

'बिरामी हुँदाहुँदै पार्टी एकीकरण गरेँ'
नेपाल लाइभ | २०७६ श्रावण ३१ शुक्रबार | Friday, August 16, 2019 १३:२२:०० मा प्रकाशित

काठमाडौं- बिहानै झापाली कार्यकर्ता प्रधानमन्त्री केपी ओलीलाई भेट्न बालुवाटार पुगे।

झापा क्षेत्र नं ५ का अगुवा कार्यकर्ताहरु हुल बाँधेरै आएपछि प्रधानमन्त्री ओलीले भने, 'म सिकिस्तै भएँ कि भन्ने लागेर भेट्न आउनुभएको हो कि क्या हो?' उनले ती कार्यकर्तालाई आफू स्वास्थ्य रहेको तर बाहिर बढी प्रचार भएको बताएको प्रेस सल्लाहकार डा कुन्दन अर्यालले बताए।

ओली बिरामी भएकोबारे बिहीबार कतिपय अनलाइन र आजका केही दैनिक पत्रिकाले लेखेका थिए।

झापा ५ नं निर्वाचन क्षेत्र र समग्र जिल्लाको विकास निर्माणका सम्बन्धमा चर्चा गर्न बालुवाटार पुगेका नेकपाका अगुवा कार्यकर्तासँग प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यको विषयमा चलाइएका हल्ला निराधान भएको बताए। 'हिजो मलाई एकछिन ९९ देखि १०० डिग्री ज्वरो आएको थियो। एउटा सिटामोल खाइदिएपछि सबै निको भयो। बाहिर म सिकिस्त भएजस्तै अफवाह फैलाइयो,' उनले भने।

प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्यका सम्बन्धमा सरोकार राख्ने शुभचिन्तकलाई धन्यवाद पनि दिए।

'गत हप्ता सिंगापुरमा आँखा, कान, घाँटी र बुढीऔंलादेखि कान्छीऔंलाका नङसम्म परीक्षण गरेर आएको छु। डाक्टरले सबै अंग ठिक छ भनेका छन्। अब २०–२५ वर्ष केही हुँदैन भन्छन्,' उनले भने आश्वस्त पार्दै भने, 'त्यसकारण म बिरामी होइन।'

प्रधानमन्त्री ओलीले आफू १५ वर्षअघि बिरामी भएको र १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेको पनि स्मरण गरे। 'म अहिले होइन, १५ वर्षअघि बिरामी थिएँ। १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेको हुँ। त्यही कहानीलाई अहिले प्रचार गरिएको छ,' उनले भने, 'मलाई बिरामी नै भन्ने हो भने पनि म बिरामी हुँदाहुँदै चुनावमा मोर्चा बनाएर पार्टीलाई सफलता दिलाएँ। बिरामी हुँदाहुँदै बहुमत दिलाएँ। सरकार बनाएँ र बिरामी हुँदाहुँदै पार्टी एकीकरण गरेँ।'

सचिवालय बैठकमा सहभागी
प्रधानमन्त्री ओली यतिबेला बालुवाटारमा जारी नेकपा सचिवालय बैठकमा सहभागी छन्।

बिहीबारका लागि बोलाइएको बैठक प्रधानमन्त्री अस्वस्थ भएपछि शुक्रबार अपराह्न ३ बजेका लागि बोलाइएको थियो। शुक्रबार ३ बजेका लागि बोलाइएको बैठक बिहान ११ बजेका लागि सारिएको थियो। 

गत साता सिंगापुरमा नियमित स्वास्थ्य परीक्षण गराई स्वदेश फर्किएका ओली बिहीबार ज्वरोका कारण सामान्य अस्वस्थ भएपछि नेकपाको बैठक सरेको थियो।

बैठकमा प्रधानमन्त्री ओलीसहित नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु झलनाथ खनाल, बामदेव गौतम, ईश्वर पोख्रेल, माधवकुमार नेपाल, विष्णु पौडेल, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ सहभागी छन्।

बैठकमा कार्यविभाजका बाँकी काम टुंगो लगाउने तथा स्कुल विभागको जिम्मेवारी तोक्ने छलफल हुने बताइएको छ। स्कुल विभागको जिम्मेवारी लिनका लागि रक्षामन्त्री ईश्वर पोख्रेल, नारायणकाजी र घनश्याम भुसालले दाबी गर्दै आएका छन्। (तस्बिर : kpsharmaoli.com)