काठमाडौं– धनुषाकी सीता चौधरी (नाम परिवर्तन) को पारिवारिक अवस्था निकै दयनीय थियो। त्यसमाथि पनि उनी शारीरिक रुपमा अशक्त थिइन्। केही अशक्त भएकै कारण उनले परिवार र समाजबाट अपहेलना सहनुपर्थ्यो।
सो अपहेलना सहन नसकेर सीता घरबाट भागेर काठमाडौं आइन्। काठमाडौं आउँदा उनी १३ वर्षकी थिइन्।
काठमाडौं आएर उनी कामका लागि धेरैतिर भौंतारिइन्। सोही क्रममा गोंगबुस्थित एक होटलमा उनले बल्लतल्ल भाँडा माझ्ने काम पाइन्।
भाँडा माझ्ने काम भनिए पनि उनले गर्नुपर्ने कामको वास्तविकता निकै फरक थियो। भाँडा माझ्ने कामसँगै उनलाई होटलमा आउने ग्राहकसँग जबर्जस्ती यौन सम्बन्ध राख्न बाध्य गराइन्थ्यो।
सुरुमा सीताले त्यो काम गर्न मानिनन्। साहुले भने अनुसार होटलमा आउने ग्राहकसँग यौन सम्बन्ध नराखे जागिर नै छाड्नुपर्ने थियो।
‘साहुको जबर्जस्तीका कारण होटलमा आउने ग्राहकसँग यौन सम्बन्ध राख्नुपर्थ्यो। यौन सम्बन्ध नराखे जागिर जाने डर थियो,’ सीता आफ्नो पीडा सुनाउँछिन्।
गाउँबाट भर्खर काठमाडौं छिरेकी सोझी युवती सीताले कि त काम छाड्नुपर्थ्यो कि त साहुले भनेजसरी नै होटलमा आएका ग्राहक रिजाउन यौन सम्बन्ध राख्नुपर्थ्यो।
काठमाडौंमा मुस्किलले काम पाएकी सीताले दुई विकल्पमध्ये एक विकल्प रोजिन्। किनकि खाँदाखाँदैको जागिर गुमाउनु थिएन।
मालिकले भने जसरी सीताले होटलमा काम गरिरहेकी थिइन्। समय बित्दै जाँदा सोही होटलमा आउने एक युवकसँग उनी प्रेम सम्बन्धमा परिन्। प्रेम विस्तारै विश्वासमा बद्लिँदै थियो।
सीताले ती युवकलाई आफ्नै ठानिसकेकी थिइन्। एक दिन ती युवकले सीतालाई इटहरी जानुपर्ने सुनाए। सीताको मनमा युवक प्रतिको प्रेमले विश्वास जमाइसकेको थियो। उनले सजिलै विश्वास गरिन् र इटहरी जान तयार भइन्।
सीता र युवक इटहरी पुगे।
तिनै युवकले इटहरीमा उनलाई एक डान्स रेस्टुरेन्टमा काम लगाइदिए। सो रेस्टुरेन्टमा काम गर्दै जाँदा केही समयपछि उनलाई ती युवकले ५० हजार रुपैयाँमा बेचेको थाहा भयो।
सीता जस्तै मनोरन्जन व्यवसायमा कार्यरत थुपै युवतीहरु बेचबिखनमा पर्ने गरेको तथ्य मानव अधिकार आयोगले फेला पारेको छ। उपत्यकामा रात्रिकालीन मनोरन्जन व्यवसायमा संलग्न कामदारहरुको सर्वेक्षणका क्रममा आयोगले सीता जस्ता अरु कामदारलाई सोधेको थियो।
मनोरन्जन तथा सत्कार सेवामा रहेका कामदारहरु बेचबिखनको उच्च जोखिममा रहेको यस क्षेत्रमा क्रियाशील संघ संस्था तथा अभियन्ताहरू बताउँछन्।
मानव अधिकार आयोगकी अनुसन्धानकर्ता तथा मानव अधिकार अधिकृत यशोदा बन्जाडेका अनुसार नेपालका रेस्टुरेन्ट, डान्सबार, होटल लगायतका क्षेत्रमा काम गर्ने ठूलो संख्यामा महिला तथा बालबालिका छन्। उनीहरुलाई मालिकले जबर्जस्ती काममा लगाउने गरेको पाइएको छ।
‘हामीले काठमाडौं र सिन्धुपाल्चोकका होटल, रेस्टुराँ तथा डान्सबार, मसाज सेन्टर लगायत क्षेत्रमा काम गर्ने श्रमिकहरुसँग कुराकानी गर्दा धेरै महिलाहरु यौन हिंसा तथा बेचबिखनमा परेको पाइएको छ,' उनी भन्छिन्, 'तर समाजको डरले उनीहरु ढुक्कले आफ्ना समस्या बाहिर ल्याउनै चाहँदैनन्।’
आयोगले मनोरन्जन तथा सत्कार क्षेत्रमा कार्यरत ५६ जना कामदारसँग कुराकानी गरेको थियो। ५६ मध्येका ४ जनाले जर्बजस्ती आफूले ग्राहकलाई यौन सेवा दिन बाध्य भएको बताएका छन्। ३ जनालाई रोजगारदाताले ग्राहकलाई यौन सेवा दिनका लागि कर गरेको बताएका छन्।
यस श्रम क्षेत्रमा प्रवेशका सन्दर्भमा सबै श्रमिकहरूलाई कसै न कसैले रोजगारदातासँग जोडिएको बताएका छन्। जसमध्ये ४ जनाले बाध्यात्मक परिस्थितिका कारण तथा ३५ जनाले आम्दानीका अवसर र ११ जनालाई भविष्यमा कलाकार बन्न सक्ने सपना देखाएर काममा लगाएको पाइएको छ।
आयोगले करिब १३ देखि २० प्रतिशत श्रमिकहरू बेचबिखनको सिकार भएको निष्कर्ष निकालेको छ।
‘मनोरञ्जन क्षेत्रमा रोजगारीका धेरै अवसर छन्, तर यस क्षेत्रमा कामदार सुरक्षित छैनन्,' अनुसन्धानकर्ता बन्जाडेले भनिन्, 'उनीहरुले आफू यस क्षेत्रमा काम गर्छु भनेर ढुक्कका साथ भन्न सक्ने वातावरण पनि छैन।’
सबै क्षेत्रमा सम्मानित काम गरेर सम्मानित जीवन जिउने वातावरण सिर्जना गरिनुपर्ने तथा कुनै क्षेत्रका श्रमिकहरुको मानव अधिकार हनन हुनु नहुने उनको भनाइ छ। (प्रतीकात्मक तस्बिर)
यो पनि:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।