काठमाडौं- अर्थमन्त्री युवराज खतिवडाले दिगो विकासको लक्ष्य प्राप्तिका लागि सबैभन्दा पहिले असमानताको अन्त्य गर्नुपर्ने बताएका छन्।
संघीय संसद्को राष्ट्रियसभाअन्तर्गतको दिगो विकास तथा सुशासन समितिले 'दिगो विकास लक्ष्यहरु कार्यान्वयन तथा सुशासन सुदृढीकरणमा संसदीय भूमिका' सम्बन्धमा राष्ट्रियसभा र प्रदेशसभाका सदस्यसँग गरेको कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै उनले दिगो विकास लक्ष्य हासिल गर्न आवश्यक असमानता अन्त्यका लागि सबै तहमा एकीकृत अभियान सञ्चालन गर्नुपर्ने बताएका हुन्।
आय, भुगोल, लिंग, शारीरिक असक्षमतालगायत विभिन्न क्षेत्रमा असमानता रहेकाले दिगो विकासको लक्ष्य प्राप्तिका लागि सबैभन्दा पहिले ती सबै क्षेत्रका असमानताको अन्त्य गर्नुपर्नेमा जोड दिएका हुन्।
असमानतालाई सबैभन्दा पहिलो एजेण्डा नबनाएसम्म समन्यायिक अवधारणाको औचित्य नै नहुने भन्दै उनले असमानता अन्त्यको अभियान कुशलतासँग अघि बढाउनका लागि सबै तहका सरकारबीचको समन्वय आवश्यक रहेको धारणा राखे।
दिगो विकासका लक्ष्य प्राप्तिका लागि संघ, प्रदेश र स्थानीय तहसँगको सहकार्य अत्यन्तै महत्वपूर्ण भएको भन्दै उनले योजना तर्जुमा, प्राथमिकता निर्धारण, अनुगमन र मूल्यांकनलाई प्रदेश सरकारले पनि उत्तिकै प्राथमिकता दिनुपर्ने जिकिर गरे।
यस्तै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्प कँडेलले दिगो विकास लक्ष्य हासिल गर्नका लागि योजना समन्वयको समस्या जटिलरुपमा देखिएको बताए। योजना निर्माण र समन्वयका सन्दर्भमा स्थानीय तहलाई कसरी लैजाने भन्नेमा स्पष्ट हुन नसक्दा प्रदेश, स्थानीय र संघका योजनाहरुको पनि समन्वय हुन नसकेको उनको भनाइ थियो।
राष्ट्रिय योजना आयोगको कूल बजेटको एक तिहाई बजेट प्रदेश र स्थानीय तहलाई दिइएको उल्लेख गर्दे उनले प्रदेशलाई १४ र स्थानीय तहलाई २१ प्रतिशत बजेट गएको जानकारी दिए।
उनले तथ्यांक र अनुगमन मूल्यांकनमा पनि समस्या रहेको भन्दै यसबीचको दूरी कम गर्दै लैजानुपर्नेमा जोड दिए। अनुगमन र मूल्यांकनको पनि नीति व्यवस्थापन नभएको र प्रभावकारी संयन्त्र नभएको उनले उल्लेख गरे।
कँडेलले राष्ट्रिय गौरवअन्तर्गत प्रादेशिक तथा स्थानीय तहमा भएका आयोजनाहरु समयमा सम्पन्न गराउन सक्रियतापूर्वक लाग्न संघीय संसद्का सांसद र प्रदेश सांसदहरुलाई आग्रह गर्नुपर्ने आवश्यकता औंल्याए। सुरु भएका योजनालाई प्राथमिकीकरण गरी अगाडि बढ्न सकेमात्रै दिगो विकासका १७ वटा लक्ष्य हासिल गर्न सकिने उनको विश्वास छ। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।