प्रिय फेसबुक,
तिमी छौ र त
म न्यायाधीश बन्न पाएको छु
वकिल बन्न पाएको छु
आफन्तको मलामी जाने दिन हराए
फेसबुक मै श्रद्धाञ्जली दिन भ्याएको छु
उदास जीवनशैली बोकेको म
लेखक भएको छु
प्रवचन दिने स्वामी भएको छु
अरुको चरित्र चिरफार गर्ने
चित्रगुप्त भएको छु।
मस्तिष्कमा आवेगको ज्वाला छ
समाजमा गर्न नसक्ने गाली
'स्टाटस'मार्फत् गरेको छु।
तिमी छौ र त मानवीयता हराउँदै छ!
बजारले दोषी देखेको मान्छेलाई
मैले गाली गर्न पाउनुपर्छ
अपशब्द बोल्न पाउनुपर्छ
इज्जतको लिलामी गर्न पाउनुपर्छ
भलै कानुनले दोषी प्रमाणित गरोस्/नगरोस्
उसैले आत्महत्या गरोस्/नगरोस्
बस्
म न्यायाधीश बन्न पाउनुपर्छ
आहा! क्या काइदा छ फेसबुक
जादुको छडीभन्दा छिटो जादु गर्छ
बिहान देउता बनेको मान्छे
दिउँसो राक्षस भैसक्छ
शररी उदांगो जसले बढी पार्छ
त्यो भाइरल हुन्छ...
भाइरलको नि छुट्टै महाकाब्य हुन्छ
केहीदिनमै भाइरल बन्नेलाई
टेलिस्कोपले खोज्नुपर्छ
प्रिय फेसबुक
तिमी छौ, संसार छ
सबै छ
मात्र छैन,
मानवता, आत्मीयता
करुणा, धैर्यता र सकरात्म सोच
आखिर जे भएपनि
संसार आफैं चल्दै गर्छ
संसारकै उत्कृष्ट प्राणी म
न्यायाधीश बन्न त पाउनुपर्छ
000
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।