काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ४५ लाख युवाहरुको रगत र पसिना विदेशमा निर्यात गरेर मात्र मुलुक समृद्ध नहुने बताएका छन्।
राप्रपाको भातृ संगठन ट्रेड युनियन महासंघ नेपाल (टुकोन)द्वारा आयोजित श्रमिकहरुको राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले नेपाली युवाहरुले खाडीमा रगत र पसिना बेचेर आएको रेमिट्यान्सले मात्र मुलुकको अर्थतन्त्र धानिनु दुःखद रहेको उनको टिप्पणी थियो। श्रमिक र किसानको प्रतिनिधि बताउने कम्युष्टिहरुको दुई तिहाइको सरकार भएको अवस्थामा पनि यस्तो हुनु दुखद् भएको उनले बताए।
'भ्रष्टाचार हेर्न पनि सक्दिनँ' भनेर प्रधानमन्त्रीले सार्वजनिक रुपमा भनिरहेकै अवस्थामा राज्यको ढुकुटीमा संगठित रुपमा नै ब्रम्हलुट हुँदैगरेका तथ्यहरु बाहिर आएको बताउँदै अध्यक्ष थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई इतिहासकै निरिह र असफल प्रधानमन्त्रीको रुपमा जनताले मूल्याङ्कन गर्ने दिन नआओस् भन्दै कामना समेत गरे ।
सरकारले अवलम्वन गरेको आर्थिक नीति नै श्रमिकमैत्री नभएको भन्दै उनले उद्योग व्यवसाय फस्टाउन नसक्नु, आशातित रुपमा आर्थिक वृद्धिदर नबढ्नु गलत अर्थनीतिको परिणाम भएको बताएका थिए।
नव सामन्त र नव धनाढ्यहरुको दिनप्रतिदिन वृद्धि भइरहेको बताउँदै अध्यक्ष थापाले नेपालको इतिहासमै श्रमिकहरुको चरम शोषण भइरहेकोले यसतर्फ ट्रेड युनियन महासंघ नेपाल (टुकोन) ध्यानाकर्षण गर्दै तल्लो तहसम्म संगठन विस्तार गरेर श्रमिकहरुको हितमा जोडदार आवाज उठाउन आग्रह गरे।
कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका वरिष्ठ नेता दिपक बोहराले देशमा पर्याप्त रोजगारको सिर्जना नभएसम्म मुलुक समृद्ध नहुने बताएका थिए। वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले आइएलओ सन्धिको पूर्ण रुपमा पालना नभएसम्म श्रमिकको उत्थान नहुने बताए।
सो कार्यक्रममा श्रमिक नेताहरु प्रेम बहादुर खत्री, युसुफ साफी, हर्कजंग थुंगीम लिम्बूलगायतले मन्तब्य व्यक्त गरेका थिए।
सो राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रममा ५३ जिल्लाका २५७ श्रमिकहरुको सहभागिता रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।