काठमाडौं- भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले निजी स्वार्थ नभएर संस्थागत स्वार्थलाई सर्वोपरि ठान्ने व्यक्तिलाई सहयोग गर्न सहकारी संस्थाहरुलाई आग्रह गरेकी छन्। नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको ३२ औं स्थापना दिवसको सन्दर्भमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अर्यालले ऋण लिनको लागि मात्रै सदस्य बन्ने सदस्यले सहकारी संस्थाको हितमा काम नगर्ने बताएकी हुन्।
'जब ऋण चाहियो तपाईंको सहकारी खोज्दै आउँछ। अन्य समयमा त्यो सहकारीका बारेमा कहिले केही गर्दैन आउदैन। त्यस्ता व्यक्तिलाई सहयोग नगर्नुस्,' मन्त्री अर्यालले भनिन्, 'सधैं तपाईंको सहकारीको हितमा काम गर्ने व्यक्तिलाई तपाईंको संस्थाको लगानीको प्राथमिकता बनोस्।'
सहकारी संस्थाहरु अब लगानीमा केन्द्रित हुनुपर्ने बताउँदै मन्त्री अर्यालले उत्पादनमूलक क्षेत्रमा केन्द्रित हुन आग्रह गरिन्।
सहकारी क्षेत्रबाट नियमावली नभएका कारण काम गर्न सकिएन भन्ने गुनासो आएपछि सहकारी क्षेत्र, सरोकारवाला सबैसँग छलफल, समन्वय गरेर नियमावली ल्याएको भन्दै अब कार्यान्वयन गर्ने जिम्मेवारी सहकारी क्षेत्रकै भएको मन्त्री अर्यालले बताइन्। मन्त्रालयले भर्खरै सन्दर्भ ब्याजदर निर्धारण गरेको भन्दै मन्त्री अर्यालले यो पहिलो पटक भएको र सबै सहकारी संस्थामा एकरुपता कायम गर्नेगरी सन्दर्भ ब्याजदर निर्धारण गरिएको दाबी गरिन्।
मन्त्रालयले सहकारी संस्था मर्जरको अभियान थालेको भन्दै मन्त्री अर्यालले प्रकृया पुगेर मर्जरका निम्ति आएका संस्थाको काम एकदिन भन्दा बढी नरोकिने बताइन्। 'हामीले एक दिनमा काम सक्नेगरी विकागलाई भनिसकेका छौं। सबै कागज पुर्याएर ल्याउने काम तपाईहरुको हो,' इमान्दारी र नैतिकवान सहकारी बनाउने जिम्मेवारी सहकारीकर्मीहरुकै भएको बताउँदै उनले तर्क उल्लेख गरिन्।
राष्ट्रिय सहकारी महासंघका अध्यक्ष तथा पूर्वमन्त्री केशव बडाल, नेपाली काँग्रेसका नेता बालकृष्ण खाँड, नेकपाका नेता तथा सहकारी अभियन्ता पशुपति चौलागाईं, पूर्व मन्त्री सुरेन्द्र पाण्डे, नेफ्सकुनका पुर्व महासचिव तथा सांसद घनश्याम खतिवडा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपिनाथ मैनाली, नेफ्सकुनका अध्यक्ष डिबी बस्नेतले समग्र सहकारी क्षेत्रलाई राम्रो बनाउन लाग्नुपर्ने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।