जनकपुर- लागुऔषध कारोबारीका लागि महोत्तरी अखडा बन्दै गएको छ। लागुऔषधका कारोबारीहरूले सञ्जाल नै खडा गरेर महोत्तरीका सीमावर्ती नाकाबाट निष्फिक्री रुपमा कारोबार गरी रहेको पाइएको छ।
भारतीय सहरका विभिन्न औषधि पसलबाट भित्र्याइने लागुऔषध महोत्तरीबाट देशका विभिन्न ठाउँमा पुग्ने गरेको छ। भारतसँगको खुला सिमाना, सबैतिर सुरक्षादृष्टि पुर्याउन सुरक्षा निकायको कमजोरी तथा सीमावर्ती भारतीय बजारहरूमा हुने खुलम्खुला बेचबिखनलगायत कारणले महोत्तरी लागुऔषध कारोबारीको 'हब' बन्दै आएको छ।
हालै महोत्तरी प्रहरीले ७ जना लागुऔषध र चोरीका समान सहित नियन्त्रणमा लिएका छन्। उनीहरूलाइ नियन्त्रणमा लिएपछि उनीहरूकै बयानका आधारमा महोत्तरी लागुऔषध कारोबारीको अखडा बन्दै गएको तथ्य खुल्न आएको छ।
महोत्तरी प्रहरीले रामगोपालपुर नगरपालिका-५ का जितेन्द्र कुमार मण्डल, शम्भु मण्डल, निरज मण्डल, रामवली महतो, रामकृष्ण महतो, राबाबु शर्मा ठाकुर र कल्लु मुखिया लागुऔषध र चोरीका समान सहित नियन्त्रणमा लिएका सात जनाको बयान तथा अनुसन्धानबाट यो तथ्य खुलेको हो।
लागुऔषध तस्करदेखि चोरी लगायतका घटनामा उनीहरुको संलग्नता पाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रामगोपालपुर नगरपालिका-५ लिदियाही पोखरी नजिकको निर्माणधीन मन्दिर आसपासबाट पक्राउ परेका उनीहरूको साथबाट नाईट्टाभेट टयाब्लेट ६० थान, स्पास्मो प्रोकसाभिन क्याप्सुल १८ थान तथा लागुऔषध इन्जेक्सन ३ थान बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले बताए।
उनीहरूको साथबाट संदिग्ध अवस्थाका मोटरसाईकल तीन थान बरामद भएका छन्। एक थान नम्बर प्लेट नभएको होण्डासाईन मोटरसाईकल, बीआर ३० आर ६४३७ नम्बरको प्यासनप्रो र ज ७ प २९२५ नम्बरको पल्सर मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरुले विभिन्न स्थानबाट चोरी गरी ल्याएका ट्याक्टरको १२ भोल्टको एक थान ब्याठ्ठी, सोनी र स्यामसुङ्ग कम्पनीको ३२ इन्चको एलइडी दुई थान मोबाइल तीन सेट समेत बरामद भएको जिल्ला प्रहरी कार्यालय महोत्तरी अपराध अनुसन्धान शाखाले जनाएको छ।
लागुऔषध कारोबारमा संलग्न भएको आरोपमा महिनैपिच्छे थुप्रै पक्राउ पर्दै आएका छन्। तर कारोबार घटनुको सट्टा दिनानुदिन बढिरहेको छ।
लागुऔषध सहजै उपलब्ध हुने भारतीय बजार र ती सामग्री पुग्ने नेपाली बजारबीचको मुख्य ट्रान्जिट महोत्तरीका सीमावर्ती स्थान मधवापुर, सुरसण्ड, सितामढी, कन्मा हुने गरेका छन्।
कारोबारीहरूको सक्रियता झन्झन् बढदो गएको र संगठित गिरोहकै कारण सम्भव भएको प्रहरीले बताएको छ।
महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार खुला सिमानाका कारण लागुऔषध नियन्त्रण चुनौतीपूर्ण बनेको छ। महोत्तरीमा चालु आर्थिक वर्ष २०७५/७६को हालसम्ममा लागुऔषध अन्तर्गत दर्ता भएको ५२ मुद्दामा एक ८८ जना पक्राउ परेका थिए। यो तथ्यांकले पनि लागुऔषधको कारोबारी बढ्दै गएको देखाउँछ।
सो अवधिमा भारतबाट भित्र्याइएको डाइजेल्याब, फेनार्गन, स्पाम्सो प्रोक्सिभोन, नुफिन गरी एम्पुल २ हजार १ सय ७१ पिस, नाइट्रोसन १० ट्याबलेट ४ हजार ४१ पिस प्रहरीले बरामद गरेका छन्।
प्रदेश २ प्रहरी कार्यालय जनकपुरका अनुसार गत आर्थिक वर्षमा २०७४/७५ प्रदेश २ का आठवटै जिल्लामा लागुऔषधअन्तर्गत चार सय ८७ मुद्दा दर्ता भएका थिए। जसमा सात सय १४ जना पक्राउ परे। चालू आर्थिक वर्षको साउनदेखि हाँलसम्म ५ सय ८८ मुद्दा दर्ता भएका छन्। जसमा ६ सय ११ जना पक्राउ परेको तथ्यांक छ।
प्रदेश प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा १६ देखि २५ वर्ष उमेर समूहका युवाको संख्या बढी छ।
गाउँगाउँमा सवारी पहुँच, बजारीकरणसँगै लागुऔषधको जालो फैलँदो छ। सीमादेखि काठमाडौं मात्रै होइन, पहाडी जिल्लाका सहरोन्मुख गाउँमा पनि लागुऔषधको प्रयोग बढिरहेको छ।
लागुऔषध धन्दामा सीमापारिदेखि पहाडी जिल्ला र काठमाडौंसम्मका युवकको गिरोह सक्रिय रहेको प्रहरी अनुसन्धानले देखाएको छ।
सीमापारि, मधेस र पहाडका युवाहरुको त्रिकोणात्मक सञ्जालले लागुऔषधको कारोबार फैलाइरहेको पाइएको छ। एउटा समूह पारिबाट वारिको सहरसम्म ल्याउने, अर्को समूह यहाँबाट पहाडी जिल्लाको सहरसम्म पुर्याउने र तेस्रो समूह काठमाडौंलगायत ठूला सहरसम्म लागुऔषध पुर्याउने गरेको तथ्य फेला परेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।