धनगढी- शनिबार दिउँसो २ बजे, धनगढीस्थित सेती अस्पतालको सर्जिकल वार्डको बेड नम्बर २६ मा रहेकी बिरामी रामजानकी चौधरीलाई रगत चढाइँदै थियो।
केहीबेरमा चौधरीले बिस्तारै टाउको हल्लाइन् र मधुरो स्वरमा केही भनिन्। निकै गलेको अवस्थामा अस्पतालको बेडमा हलचल गरिरहेकी चौधरी लम्कीचुहा नगरपालिका-८ गोप्काकी स्थानीय हुन्। ३० वर्षीया उनी जग्गाको साँधसीमा विवादमा निर्घात कुटिएर ४० दिनपछि मात्रै होसमा आएकी थिइन्।
चौधरीलाई असार १७ गते छिमेकीहरूले निर्मम ढंगले कुटपिट गरेका थिए। उनलाई कुटपिट भएको ३९ दिनपछि सेती अस्पताल भर्ना गरिएको थियो। साउन २६ मा सेती अस्पताल ल्याउँदा उनी अचेत थिइन्। अस्पतालमा उपचार भएपछि साउन २७ मा मात्र उनको होस आएको थियो।
४० दिनपछि होसमा आएकी रामजानकीलाई अहिले पनि खुट्टाहरू चलाउन सहज छैन। टाउको, हात, घाँटी, छाती, ढाड र तल्लो पेट बरोबर दुख्ने गरेको उनी बताउँछिन्।
अस्पतालमा रामजानकीको आडमै भेटिएका उनका श्रीमान् तीर्थ डगौंरा थारुले भने, 'अस्पताल ल्याएदेखि शुक्रबार पहिलोपटक जाउलो खाइन्।'
रामजानकीलाई अस्पताल भर्न गरिएको एक साता भइरहेको छ। स्वास्थ्यमा क्रमिक सुधार आइरहेको भए पनि उनी अझै सहजै बोल्न सक्ने अवस्थामा छैनन्। त्यसबाहेक अन्य क्रियाकलापका लागि समेत उनी तन्दुरुस्त भइसकेकी छैनन्। शनिबार अस्पताल पुग्दा उनले हामीसँग घटनाबारे केही कुरा बताइन्। मलिन स्वरमा उनले भनिन्, 'यमबहादुर र उनकी छोरी लक्ष्मीले मेरा हातखुट्टा च्यापेर कुटपिट गरे। गाली बेइज्जत गरे। मेरा ससुरा उनीहरूसँग बुहारीलाई नकुट्न हारगुहार गरिरहेका थिए, तर उनीहरूले मलाई कुट्न छोडेनन्।'
रामजानकीको टाउको, खुट्टालगायत शरीरका केही भाग सुन्निएकाले एमआरई र सिटी स्क्यान गर्नुपर्ने चिकित्सकहरूले सुझाव दिएका छन्। श्रीमान् तीर्थले दुखेसो पोखे, 'सेती अस्पतालमा यो सुविधा रहेनछ, अन्यत्र लैजानका लागि हामीसँग खर्च छैन।'
यसैबीच, अधिकारकर्मी भूमि फुलारालगायतको समूहले रामजानकीलाई उपचारका लागि कोहलपुर लैजाने तयारी गरेको छ। उनीहरूले त्यसका लागि रकम संकलन पनि गरिरहेका छन्। भूमिले भनिन्, 'हामीले ५ हजार रुपैयाँ संकलन गरिसकेका छौं। उपचारमा थप रकम आवश्यक पर्ने भएकाले सहयोग मागिरहेका छौं।'
प्रहरीले अझै लिएन पीडितको जाहेरी
रामजानकी कुटिएको ४७ दिन बितिसकेको छ, तर कैलाली प्रहरीले अझै पनि पीडितको जाहेरी लिएको छैन।
अधिकारकर्मी फुलाराको समूहले पीडित रामजानकीको मुद्दा दर्ता गराउन पहल गरिरहेको भए पनि प्रहरीले जाहेरी लिन नमानेको जनाइन्। उनले रामजानकीको शरीरमा बाहिरी देखिने घाउ नहुँदासम्म प्रहरीले मुद्दा दर्ता नहुने प्रतिक्रिया दिइरहेको बताइन्। ‘जाहेरीका लागि अंगभंग, निलडाम अथवा हतियार प्रयोग भएको घाउ अनिवार्य हुनुपर्ने प्रहरीले बताउने गरेको छ,’ उनले भनिन्, 'आज फेरि हामी जाहेरी दर्ताका लागि प्रयास गर्दैछौं।'
यता जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख सुदीप गिरीले ज्यान मार्ने उद्योगअन्तर्गत जाहेरी आएका कारण उजुरी दर्ता गर्न नसकिएको बताए। उनले भने, 'ज्यान मार्ने उद्योगअन्तर्गत प्रमाणित गराउन नसकिने भएकाले उजुरी दर्ता गरेनौं। उहाँहरु आज फेरि आउँदै हुनुहुन्छ। के हुन्छ हेरौं।'
न्यायिक समितिमा भएको सहमति पनि पीडकले पालना गरेन
रामजानकीमाथि भएको कुटपिटको घटना सार्वजनिक भएपछि लम्कीचुहा नगरपालिकाको न्यायिक समितिमा दुवै पक्षलाई बोलाएर छलफल गरेको थियो। पीडित र पीडकबीच छलफलपछि न्यायिक समितिले निर्णय पनि गरेको थियो- 'पीडित रामजानकीको उपचारमा लाग्ने सबै खर्च कुटपिट गर्ने यमबहादुरको परिवारले ब्यहोर्ने।'
पीडित रामजानकीका श्रीमान तिर्थले भने यमबहादुरको परिवारबाट कुनै पनि सहयोग प्राप्त नभएको बताए। भने, 'न्यायिक समितिमा सहमति गरेपछि उनकी छोरी लक्ष्मी हामीलाई भेट्न आइन् र 'कहाँ उपचार गर्ने?' भनेर सोधिन्। हामीले काठमाडौंको टिचिङ अस्पतालमा जाने भन्यौं। उनले 'हुन्छ, एकछिनपछि आउँछु' भनेर गएकोमा अहिलेसम्म फर्केकी छैनिन्।'
तीर्थले सोही दिननै अस्पतालबाट काठमाडौं लैजान सबै काजात मिलाएको भए पनि यमबहादुरको परिवारले कुनै चासो नदिएपछि पुनः सेतीमै उपचार गराइरहेको बताए।
के थियो घटना?
पीडित रामजानकीको तीन कट्ठा ऐलानी जग्गा र नजिकै पीडक मार्कण्डीको एक बिघा जग्गा थियो। पीडक मार्कण्डीले प्रत्येक वर्ष आफ्नो जग्गाको सिमाना बढाइरहेकाले पीडित रामजानकीको परिवारले त्यस्तो नगर्न आग्रह गरिरहेका थिए।
सिमाना बढाउन पीडित पक्षले रोकेपछि मार्कण्डीले छोरा लगाएर कुटपिट गराएका थिए। कुटपिट पछि रामजानकी बेहोस् भएकी थिइन्।
कुटपिटलाई लिएर रामजानकीका श्रीमान् तीर्थले पटक-पटक इलाका प्रहरी कार्यालय लम्कीमा जाहेरी दर्ता गराउने प्रयास गरे। उनले प्रहरीले जाहेरी लिन नमानेको र आर्थिक अवस्था कमजोर हुँदा श्रीमतीलाई अस्पताल पनि लग्न नसकेको बताएका थिए।
घरमै अचेत अवस्थामा रहेकी रामजानकीलाई उपचारका लागि अधिकारकर्मी फुलारालगायतको समूहले ३९ दिनपछि सेती अस्पताल ल्याएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।