डडेल्धुरा- पिँडालुको कलिलो पात, दूध, दहीलगायत वस्तु सम्मानस्वरुप आफ्ना छरछिमेकीहरुलाई बाँडेर मनाइने ओल्के पर्व आइतबार सुदूरपश्चिम प्रदेशमा हर्षोल्लासपूर्वक मनाइँदै छ। यो पर्व हरेक वर्ष भाद्र सङ्क्रान्तिका दिन मनाइन्छ।
ओल्के चाडमा बढी प्रयोग हुने दूधदहीको जोहो गर्ने र मीठा-मीठा परिकार बनाउनुपर्ने भएपछि घरका गृहिणीको व्यस्तता पनि बढाइदिएको छ।
आफ्ना मान्यजन, इष्टमित्र, छरछिमेकीलाई सगुनका रुपमा पिँडालुको गाभा, दूध, दही, अन्य हरियो सागपात दिएर स्वागत गर्ने विशिष्ट खालको मौलिक परम्परा यो प्रदेशमा रहेको छ। ओल्के चाड मनाइने भाद्र सङ्क्रान्तिका दिन विवाहिता छोरीलाई माइती घरमा आमन्त्रण गरी लाउन, बावर, माणा, निसौसे, डुब्कालगायत स्थानीय खानाका मीठा परिकार पकाएर खुवाउने र खाने प्रचलन छ।
ओल्के भन्नाले आफूभन्दा ठूलो र सम्मानित घरपरिवार वा व्यक्तिलाई दिइने सगुन वा उपहार भन्ने बुझिन्छ। ओल्के चाडको दिन गाउँ नजिकको डाँडामा जम्मा भएर रूखबिरुवाका हाँगा र झ्याङ काटेर एक ठाउँमा थुप्रो बनाउने गरिन्छ। यसलाई स्थानीय भाषामा ‘बुढी हालेको’ भनिन्छ।
यसरी बनाइएको थुप्रोलाई असोज सङ्क्रान्तिको साँझ गाउँका सबैजना भेला भएर पोल्ने गर्छन्। यसलाई ‘बुढी पोल्ने’ भनिन्छ। बूढी पोल्ने काम सकिएसँगै गाउँमा अनिष्ट एवं कुनै रोगको महामारी नआउने जनविश्वास रहिआएको छ।
खासगरी पहाडी क्षेत्रमा बसोबास गरिरहेकाहरुले ओल्के चाडमा भँगेरी प्रजातिको फूलको बोटका पात टिपेर सिलौटामा पिँधेर बनाइएको लेदो हत्केला र खुट्टाको औँलामा लगाएर रङ्गाई रमाउने पनि गर्दछन्। यसरी पिँधेर लगाइएको भँगेरीको लेदोबाट हत्केला र खुट्टाको औँलाको छाला रातो हुने भई यसले वर्षाको मौसममा खेतबारीमा काम गर्दा हात र खुट्टामा देखिने छालासम्बन्धी रोगको सङ्क्रमणबाट बच्न सकिने जनविश्वास रहेको छ।
सदियौँदेखि मनाइँदै आएको यो चाडको रौनक र महत्वका बारेमा वृद्धवृद्धा केही जानकार रहे पनि पछिल्लो केही दशकदेखि नयाँ पिँढीका युवायुवतीमाझ भने यो चाडले प्राथमिकता पाउन छाडेको स्थानीय जानकारहरु बताउँछन्।
युवा पिँढीमा प्राथमिकता नपाउँदा डोटेली मौलिक संस्कृति बोकेको ओल्केजस्ता चाडपर्वहरुको मौलिकता नै हराउन थालेकामा डोटेली समुदायमा चिन्ता व्यक्त गर्न थालिएको छ। पश्चिमा संस्कृतिको बढ्दो प्रभावस्वरुप नेपाली समाजमा सदियौँदेखि मनाइँदै आएका कतिपय चाडपर्वहरु बिस्तारै हराउन थालेको अवस्था रहेकाले आफ्नो ऐतिहासिक सभ्यता र संस्कृतिको पहिचान बोकेका यस्ता चाडपर्वको संरक्षणका लागि सरोकारवाला जाग्नुपर्ने समय आएको स्थानीय पार्भत ओझाको बुझाई छ।
उनले भनिन्, ‘ऐतिहासिक सभ्यता र संस्कृतिको पहिचान बोकेका यस्ता चाडपर्वको संरक्षणमा लाग्नु स्थानीय सरकारको पनि दायित्व हो।’ (तस्बिर-अन्नपूर्ण पोष्ट)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।