काठमाडौं– सञ्चारकर्मी शालिकराम पुडासैनीको आत्महत्या प्रकरण संसद्मा उठेको छ। पुडासैनीको आत्महत्यापछि छानविनका लागि टिभी प्रस्तोता रवि लामिछानेलाई पक्राउ गर्दा 'हुलहुज्जत' गरिएको भन्दै सांसद महेशराज गहतराजले संसद्मा ध्यानाकर्षण गराएका हुन्।
प्रहरीको अनुसन्धान प्रक्रियालाई अवरोध गर्ने तरिकाले हुलहुज्जत भइरहेको भन्दै यस्ता गतिविधिले अपराधलाई संरक्षण गर्ने उनको तर्क छ। उनले भने, ‘अराजक, गैरकानुनी र हुलहुज्जत गर्ने काम भइरहेको छ। त्यसको म निन्दा गर्छु र भर्त्सना गर्छु।’
प्रहरीले घटनाको अनुसन्धान गर्ने र अदालतले फैसला गर्ने संवैधानिक र कानुनी प्रावधान रहेको बताउँदै रविका पक्षमा भएको हुलहुज्जत शान्तिसुरक्षा र सुशासन विरुद्ध भएको उनको ठहर छ।
आफूलाई मन परेको मान्छे सुनपानी छर्केको चोखो हुने मानसिकताले अपराधलाई प्रोत्साहन गर्ने उनको तर्क थियो। कँडेलले प्रश्न गरे, ‘अहिले देखिएको यस्ता क्रियाक्लापले समाजलाई कतातिर लैजाँदैछ?’
यसैगरी सांसद यज्ञराज सुनुवारले पनि उक्त प्रकरणमा सत्यतथ्य छानबिन गर्न सरकारलाई आग्रह गरे।
सञ्चारकर्मी पुडासैनीको शव गत साउन २० गते चितवनको नारायणगढस्थित होटल कंगारुमा भेटिएको थियो। पुडासैनीले आत्महत्या गर्नुअघिको भिडियो सार्वजनिक भएपछि कार्यक्रम 'सिधा कुरा जनतासँग'का प्रस्तोता रवि लामिछाने, सोही कार्यक्रममा आवद्ध युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई चितवन प्रहरीले पक्राउ गरेको छ।
काठमाडौंमा पक्राउ गरी शुक्रबार बिहान चितवन पुर्याइएका तीनै जनालाई जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।
रविलाई पक्राउ गरेपछि उनका समर्थकहरुले चितवनमा लगातार विरोध जनाइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।