काभ्रे– पनौती नगरपालिका वडा नं २, लप्सेटारमा जेष्ठ नागरिक मिलन केन्द्र भवन निर्माण सम्पन्न भएको छ। केन्द्रको नवनिर्मित भवन पनौती नगरपालिकाका प्रमुख भीम न्यौपानेले शनिबार उद्घाटन गरेका छन्।
सोही क्रममा नगर प्रमुख न्यौपानेले लप्सेटारकै धारा चौरमा निर्माण गरिएको जोर ढुंगेधारा र विश्राम स्थलको पनि उद्घाटन गरेका थिए। कार्यक्रममा न्यौपानेले विकास निर्माणमा स्थानीयबासीले देखाएको उत्साहको प्रशंसा गर्दै गाउँको विकासमा थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।
कार्यक्रममा ६५ वर्ष उमेर पुगेका जेष्ठ नागरिकहरुलाई खादा ओढाएर सम्मान गरिएको थियो।
श्रीकृष्ण सेवा समाजको अगुवाइमा श्रीकृष्ण मन्दिर र सिद्धेश्वर मन्दिरको हातामा निर्मित जेष्ठ नागरिक मिलन केन्द्र भवनका लागि पनौती नगरपालिकाले आर्थिक सहयोग गरेको थियो।
पनौती नगरपालिका वडा नं २ का वडाध्यक्ष पुरुषोत्तम अधिकारीले नगरपालिकाको सहयोग र स्थानीयको श्रमदानबाट सोचेभन्दा धेरै काम गर्न सम्भव भएको बताए।
कार्यक्रममा पनौती नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद तिमल्सिना, पनौती नगरपालिका वडा नं ३ का वडाध्यक्ष किशोर थापा, श्रीकृष्ण सेवा समाजका अध्यक्ष इन्द्रप्रसाद अधिकारी, भवन निर्माण समितिका अध्यक्ष श्रीकृष्ण अधिकारी लगायतले मन्तव्य राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।