काठमाडौं– प्रतिनिधी सभाको आइतबारको बैठकमा सभामुख कृष्णबहादुर महराले प्रश्नोत्तरका लागि समय नछुट्याएपछि कांग्रेस नेता मिनेन्द्र रिजालले व्यंग्य कसेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली सम्बोधनका लागि आउँदा तन्दुरुस्त र स्वस्थ देखेको खुशीमा आफूले प्रश्न सोध्नै बिर्सेको भन्दै ब्यंग्य गरे।
प्रतिनिधी सभा नियमावली, २०७५मा सभामुखले अन्यथा आदेश दिएमा बाहेक प्रत्येक दिनको पहिलो बैठकको एकघण्टा प्रश्नोत्तरको लागि निर्धारण गरिने उल्लेख छ । तर आइतबार सुरुमै प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरे । लगत्तै सभामुखले शून्य समय सुरु भएको जानकारी गराए।
सभामुखले प्रधानमन्त्री ओलीसँग प्रश्नोत्तर गर्न नदिएकोतर्फ संकेत गर्दै कांग्रेस नेता रिजालले भने, ‘सभामुख महोदय, प्रधानमन्त्रीलाई तन्दुरुस्त र स्वस्थ देखेर म खुशी भएँ । यति खुशी भएँ कि प्रश्नोत्तर सोध्नै विर्सेछु । अरु साथीलाई पनि त्यही भयो होला ।’
उनले नियमावलीअनुसार प्रश्नोत्तरको समय पक्कै दिइएको हुन सक्ने भन्दै सभामुख महरातर्फ व्यंग्यवाण सोझ्याए।
प्रधानमन्त्रीले लोकतन्त्रका लागि सरकार लडेको बताएको भन्दै उनले भने, ‘सरकार लडेको होइन, लडेको मान्छेले बनाएका सरकार होला!’
उनले एकपटकको लडाइँले जीवनभरि नपुग्ने भन्दै प्रजातन्त्रका लागि लडेकाहरु पञ्चायततर्फ लागेको दृष्टान्त अघि सारे।
अर्को चुनावसम्म आफू नै सरकारमा रहन प्रधानमन्त्री ओलीको संकेतमाथि समेत व्यंग्य गरे । उनले भने, ‘अर्को चुनाव नभएसम्म यही सरकार हो
। यस्तै कामले अर्को चुनावपछि भने सरकार कांग्रेसको हुन्छ।
उनले आर्थिक वृद्धिका बारेमा हलुका टिप्पणी गरिएको बताए । पुँजीगत खर्च कम भएको समेत उल्लेख गरे । प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग कार्यसम्पादन करार गरेको सन्दभएमा उनले भने, ‘जनताले प्रधानमन्त्रीसँग गरेको करार पूरा भएन । त्यसको के गर्ने?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।