काठमाडौं - गएको सिजनदेखि नै रियल मड्रिडमा चर्चामा रहेको विषय हो, ‘क्लबमा ग्यारेथ बेलको समय अन्त्यतिर पुग्यो।’ तर, प्रि सिजनमा समेत धेरै वेवास्तामा परेका बेलबिना अहिले रियल मड्रिड अपूरो देखिँदै छ।
ला लिगा खेलमा सेल्टा भिगोलाई ३-१ ले हराउँदा बेल ७५ मिनेटसम्म मैदानमा थिए। करिम बेन्जेमा, टोनी क्रुस र लुकास भासक्वेजले गोल गरेको खेलमा बेलको भूमिका आगामि खेलका लागि समेत महत्वपूर्ण बन्ने देखिएको छ। ५६ औँ मिनेटमा लुका मोडरिक रातो कार्ड पाएर बाहिरिए पनि मड्रिड टिम एकजुट भएर खेलेको थियो।
रियल मड्रिड प्रशिक्षक जिनेदिने जिदानले बेललाई आउँदो सिजन क्लबमा देख्न नचाहेको सार्वजनिक रुपमा नै बताउँदै आएका थिए। त्यसमा मड्रिड अध्यक्ष फ्लोरेन्टिनो पेरेज भने सधैँ बेलतर्फ नै देखिइरहेको थिए। पेरेजकै विश्वासमा उत्रिएका बेलले गरेको मेहनत अहिले मैदानमा पनि देखिएको छ।
अहिले जिदान नै पनि क्लबको एक महत्वपूर्ण सदस्यका रुपमा बेललाई हेरिरहेका छन्। उनीहरुको बिग्रिएको सम्बन्ध थोरै हदसम्म भए पनि सकारात्मक भएको देखिन्छ। हुन त बेल र जिदानले रियल मड्रिडका लागि सँगै धेरै जितेका छन्। त्यसको प्रभावले पनि उनीहरुको सम्बन्ध सुधार हुन बल पुग्ने नै छ।
यसैले सेल्टा भिगोसँगको खेलपछि पनि जिदानले भने, ‘बेल क्लबमै रहने छन्।’
बेल र जिदानको सम्बन्ध २०१८ को च्याम्पियन्स लिग फाइनलपछि बिग्रिएको प्रष्ट भएको थियो। दिन बित्दै जाँदा रियल मड्रिड बेञ्चमा समेत ठाउँ नपाउने अवस्थामा पुगेका बेलले जतिसुकै वेवास्ताका बीच पनि मड्रिड छाड्न तयार भएनन् र मेहनत गरिरहे।
२०१८ को च्याम्पियन्स लिग फाइनका बेला लिभरपुलसँगको खेलको ६१ औँ मिनेटमा मात्रै बेलले मैदान प्रवेश गर्न पाएका थिए। त्यसअघि १-१ गोलको बराबरीमा रहेको खेलमा बेलले नै ६४ औँ र ८३ औँ मिनेटमा गोल गर्दै मड्रिडलाई ३-१ ले उपाधि जिताए।
उपाधि जित्नुको खुशी त छँदै थियो, तर बेलको मनमा सुरुवाती ११ मा पर्न नसक्नुको पीडा पनि उस्तै थियो। यसैले उनले खुलेरै असन्तुष्टी व्यक्त गरेका थिए। आफ्नो भविष्यको बारेमा प्रश्न गरे। जितको त्यो उत्सवमा बेलको प्रश्न जायज नमान्ने ठूलो जमात त्यतिबेलै बन्यो। त्यसमा जिदानले अझ बल पाए।
२०१३ मा टोटनह्यामबाट बेललाई रियल मड्रिड ल्याउने मड्रिड अध्यक्ष फ्लोरेन्टिनो पेरेजको चाहना जिदानलाई भने उतिबेलै मन परेको थिएन। पेरेजले रोनाल्डोको जस्तै सफलता बेलले पाउने देखिरहँदा असन्तुष्ट देखिएका जिदानले क्लब सम्हाल्न पाएको सन् २०१५ मा बेलबिनाको मड्रिड कल्पना गर्ने स्थिति थिएन। बेलका लागि विशेष कुनै योजना जिदानसँग नभए पनि उनी मड्रिडको जितमा मुख्य भूमिकामा नै देखिन्थे। अहिले क्लबमा ठिक २०१५ का महत्वपूर्ण बेल देखिइरहेका छन्।
रियल मड्रिडमा नै आफ्नो खेल जीवन बिताउन चाहेका बेलले ठूला उपलब्धी क्लबलाई दिलाएका छन् भन्ने अहिले प्रष्ट हुँदै छ। उनलाई प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड र टोटनह्याम, जर्मन च्याम्पियन बार्यन म्युनिख र चाइनिज सुपर लिग क्लबले समेत किन्न इच्छा देखाइरहेका बेला उनी मात्रै थिए जसले आफ्नो स्थान रियल मड्रिडमा नै रहेको बारम्बार बताए।
चाइनिज सुपर लिग क्लब बेइजिङ गोएनले त हप्ताकै एक मिलियन पाउण्ड दिन तयार भइरहेको थियो। यदि यसलाई स्वीकार गरेर बेल चीन गएका भए उनी सर्वाधिक कमाउने फुटबलर बन्ने थिए। तर बेलको सोच पैसा कमाउनेमा भन्दा बढी आफूलाई प्रमाणित गर्नेमा देखिन्छ।
सन् २०१३ मा त्यसबेलाको विश्व कीर्तिमानी मूल्य ८५ मिलियन पाउण्डमा टोटनह्यामबाट रियल मड्रिड आएका बेलको सम्झौता अझ तीन वर्ष बाँकी नै छ। उनले मड्रिडमा चार च्याम्पियन्स लिग, एक ला लिगा, एक कोपा डेल रे, चार क्लब विश्वकप र तीन युइएफए सुपर कप जितेका छन्।
‘कुनै व्यक्तिगत सम्बन्धका कारण या कुनै रिसइबीका कारण होइन, म प्रशिक्षक भएकाले केही निर्णयहरु लिनै पर्ने हुन्छ, त्यसैले बेलले क्लब छाड्नु नै राम्रो छ’ जिदानले बेलको सम्बन्धमा यस्तो बताएको एक हप्तामा नै बेलले आफ्नो जवाफ मैदानबाटै दिए। बेललाई नचाहने जिदानको स्वभाव फेरिएको देखिँदै छ, त्यसमा विश्वस्तरीय खेलाडी बेलको भूमिका पनि सन्तुलित हुँदै गएको छ।
सन् १९९९ मा साउथह्याम्टन युवा टिममा रहेर फुटबल सुरु गरेका बेलले २००६ मा सिनियर टिममा नै स्थान बनाएका थिए। त्यहाँबाट २००७ मा टोटनह्याम गएका बेल आफ्नो उत्कृष्ट खेल लयकै कारण २०१३ मा रियल मड्रिड पुगेका थिए। वेल्स राष्ट्रिय टिमबाट खेल्ने उनले इंल्याण्डमा देखाएको भन्दा माथिल्लो स्तरकै खेल स्पेनमा देखाएका हुन्।
क्रिष्टियानो रोनाल्डो युभेन्टस लागेपछि त उनको स्थानका एकमात्र स्टार खेलाडीका रुपमा ग्यारेथ बेललाई नै हेर्न थालिएको थियो। तर घाइते रहने समस्यासँगै क्लबको अविश्वासले उनी त्यो भूमिकामा देखिन सकेका थिएनन्। गएको सिजनको उतार चढावपछि अहिले भने मैदानमा उही पुराना बेल फर्किएको भान हुन्छ।
रियल मड्रिड प्रशंसकले बनेको क्लब पनि हो। बेलमाथिको धारणा बुझ्दा मड्रिड प्रशंसक के चाहन्छन् भन्ने बुझ्न जरुरी हुन्छ। यसअघि बेलमाथिको वेवास्ता हाबी भएर उनी हुनु र नहुनुमा प्रशंसक समेत तथस्ट रहेको देखिए पनि अहिले भने बेलको समर्थनमा देखिने दर्शकहरु पनि बढिरहेका छन्।
‘बेल रियल मड्रिडमा नै रहने छन् र यसलाई हामीले सकारात्मक रुपमा हेर्नुपर्छ’ जिदानले भनेका छन्, ‘इडन हाजार्ड अवस्थ हुनु हाम्रा लागि दुर्भाग्य हो तर त्यसले क्लबमा बेलको भूमिका परिवर्तन भएको होइन, बेल र अरु खेलाडीले पनि रियल मड्रिड जर्सीको महत्व अझ बढाउने छन्।’
सन् २०१३ मा त्यसबेलाको विश्व कीर्तिमानी मूल्य ८५ मिलियन पाउण्डमा टोटनह्यामबाट रियल मड्रिड आएका बेलको सम्झौता अझ तीन वर्ष बाँकी नै छ। उनले मड्रिडमा चार च्याम्पियन्स लिग, एक ला लिगा, एक कोपा डेल रे, चार क्लब विश्वकप र तीन युइएफए सुपर कप जितेका छन्।
यस्तै जितको निरन्तरता हुने आश बेलको खेलमा रियल मड्रिड समर्थकले पुनः देख्न थालेका छन्। जसरी सेल्टा भिगोसँगको सुरुवाती ११ मा बेललाई राखेर जिदानले सबैलाई ‘सरप्राइज’ दिए उसैगरी उत्कृष्ट खेल देखाएर बेलले पनि जिदानको विश्वासलाई प्रमाणित गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।