काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले द्वन्द्वकालीन मुद्दासम्बन्धी विषय टुंग्याउन बनाइएका दुई आयोग यसै हप्ताभित्र गठन हुने बताएका छन्।
आइतबार प्रतिनिधिसभामा सम्बोधन गर्दै ओलीले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिको छानबिनसम्बन्धी आयोगले यसै हप्तामा पूर्णता पाउनेमा आफू विश्वस्त रहेको बताए।
‘हामीले सत्य निरुपण तथा मेलमिलाप र बेपत्ता व्यक्तिको छानबिनसम्बन्धी आयोग गठनका लागि प्रमुख आयुक्त, आयुक्तहरुको सिफारिस गर्न समिति निर्माण गरेका छौं,’ उनले भने, ‘सिफारिस समिति हाल क्रियाशील छ। र, मैले विश्वास लिएको छु यसै हप्ताभित्र दुवै आयोग गठन हुनेछ।’
उनले समितिबाट नाम सिफारिस हुने बित्तिकै आयोग गठन हुने र काम प्रारम्भ हुने कुरामा ढुक्क हुन सकिने बताए।
ओलीले आफूहरुले गरेको प्रतिवद्धता अनुसारै संक्रमणकालीन न्यायको विषय टुंग्याउने बताए। ‘सिफारिस आउने बित्तिकै सरकारले विलम्ब नगरी गठन गर्छ र हामी हाम्रा प्रतिवद्धताअनुसार नै समुचित ढंगले यस विषयको शिघ्रा ति शिघ्र निरुपण गर्दछौं,’ ओलीले भने।
उनले द्वन्द्वको खाटा, घाउहरु लामो समय लम्ब्याउन उचित नहुनेमा समेत जोड दिए। उनले भने, ‘द्वन्द्व समाप्त भएको, हामीले द्वन्द्व व्यवस्थापन गरेको यति समय भइसक्दा पनि द्वन्द्वको खाटा, घाउहरु बाँकी नै रहनु र तिनीहरुलाई सम्झिएर कहिले-कहिले कतै चित्त दुख्ने, कतै घाउ चहर्याउने स्थिति हुनु वान्छनीय होइन।’
गत माघ २६ मा आयोगका तत्कालीन आयुक्त र प्रमुख आयुक्तको म्याद सकिएपछि द्वन्द्वकालीन दुई आयोग रिक्त छन्।
ती आयोगमा पदाधिकारी नियुक्तिका लागि सरकारले १५ चैतमा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा ५ सदस्यीय सिफारिस समिति बनाएको थियो।
सिफारिस समिति बनाएको ५ महिनासम्म पनि अहिलेसम्म नाम सिफारिस हुन सकेको छैन। खासगरी मुख्य दल आयोगको नेतृत्वमा आफ्नो मान्छे पुर्याउनुपर्ने अडानमा रहेपछि समितिले नाम सिफारिस गर्न सकेको छैन।
दुई आयोगका लागि ५७ जनाले आवेदन दिएका छन्।
सत्यनिरूपण तथा मेलमिलाप आयोगमा करिब ६३ हजार उजुरी दर्ता भएका छन् भने बेपत्ता पारिएका व्यक्तिहरूको छानबिनसम्बन्धी आयोगमा ३ हजार १ सय दर्ता भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।