गत वर्ष चीनको बेइजिङमा भएको एसिया प्रशान्त क्षेत्रीय हवाई महानिर्देशकहरुको सम्मेलन
काठमाडौं- अन्तर्राष्ट्रिय नागरिक संगठन (आइकाओ)ले हरेक वर्ष गर्ने एसिया प्रशान्त क्षेत्रीय हवाई महानिर्देशकहरुको ५६औं सम्मेलन काठमाडौंका भोलि (सोमबार) देखि सुरु हुने भएको छ।
५ दिनसम्म चल्ने सम्मेलनमा १२ वटा एजेन्डा प्रस्तुत हुनेछन्। सम्मलेनमा एसिया प्रशान्त क्षेत्रीय नागरिक उड्डयन संठगनका ४३ देशमा २ सय ९१ प्रतिनिधिसहित ६ सयभन्दा बढी विदेशी प्रतिनिधि सहभागि हुने नेपाल नागरिक उड्डयन प्राधिकरणका महाननिर्देशक राजन पोखरेलले जानकारी दिए।
सम्मेलनमा नेपालको तर्फबाट ३३ जना प्रतिनिधि सहभागि हुनेछन्। सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने तय भएको छ।
सम्मेलनको मुल नारा ‘क्षमताको सिमितता मेट्न गरिने साझा सम्बोधन’ रहेको छ। सम्मेलनले हवाई क्षेत्रको विकासका लागि दिने सुझाव आइकाआको बैठकमा पेस हुनेछ। पेस भएको सुझाव आइकाओबाट पारित भएको अवस्थामा सबै देशमा लागु हुनेछ। साथै सम्मेलनले एसिया प्रशान्त क्षेत्रको हवाई विकासका लागि पनि परिपत्र गर्न सक्नेछ।
यसअघि पनि नेपालले सन् १९७८ र १९९८ मा यस्तो सम्मेलन आयोजना गरेको थियो। यसपटक नेपालमा हुने सम्मेलन सबैभन्दा ठूलो सम्मेलनसमेत हुने पोखरेलले जानकारी दिए।
अहिलेसम्म भएको एसिया प्रशान्त क्षेत्रीय हवाई महानिर्देशकहरुको सम्मेलनमध्ये बेइजिङमा भएको सम्मेलनमा २ सय ३६ जनाको सहभागिता रहेको थियो। नेपालमा हुने सम्मेलनमा ४ सयभन्दा बढी विदेशीको मात्रै सहभागिता हुनेछ।
सम्मेलनमा यस क्षेत्रमा सरोकार राख्ने अन्य १६ वटा संस्थाहरुले समेत प्रदर्शनी गर्नेछन्। साथै सम्मेलनमा आइकाओ, इयूलगायतका अन्तर्राष्ट्रिय नागरिक उड्डयनसँग सम्बन्धित संस्थाहरुको समेत सहभागिता रहनेछ।
साथै सम्मेलनमा ५६ वटा कार्यक्रम र ५३ वटा सूचनासम्बन्धी विषयमा समेत छलफल हुनेछ।
सम्मेलनको उद्घाटन सत्रमै आइकाओको ७५औं वार्षिकोत्सवको अवसरमा सगरमाथाको चुचुरोमा पुर्याइएको आइकोआको विषेश झन्डासमेत हस्तान्तरण हुने भएको छ। कार्यक्रममा झन्डालाई चुचुरोमा पुर्याउने आरोहीले नै आइकाओका अध्यक्षलाई हस्तान्तरण गर्ने पोखरेलले जानकारी दिए।
सम्मेलनमा एभिएसन सेफ्टी, एयर नेभिगेसन, एभिएसन सुरक्षालगायतका १२ वटा परिपत्र प्रस्तुत हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।