काठमाडौं- भदौको दोस्रो सातादेखि उपत्यकामा विद्युतीय बस सञ्चालनमा आउन लागेको छ। सुन्दर यातायात प्रालिले उपत्यकामा विद्युतीय बस संचालन गर्ने तयारी गरेको हो।
चिनियाँ कम्पनी बिएके ब्याट्री इन्क कम्पनीले निर्माण गरेका ती बसमा ४० वटा यात्रु बस्न मिल्ने सिट छन्। भदौ ९ गतेभित्र विद्युतीय बस सञ्चालनमा ल्याइने सुन्दर यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए। ‘यात्रु सिट बाहेक ३० जना यात्रुहरु उभिएर यात्रा गर्न सक्छन्, एउटा बस ७० जना यात्रु बोक्न सक्ने क्षमता भएको छ,’ अध्यक्ष थापाले भने।
भाडा कति?
विद्युतीय सवारी साधनको भाडादर भने निर्धारण भइनसकेको र सरकारलाई भाडादर निर्धारण गरिदिन समितिले माग गरेको समितिले जनाएको छ।
‘सरकारले भाडादर त निर्धारण गरिदिएको छैन। तर पेट्रोल तथा डिजेलबाट चल्ने सवारी साधनभन्दा विद्युतीय बसबाट यात्रा गर्ने यात्रुहरुलाई २० देखि २५ प्रतिशत सम्म छुट हुने हामीले व्यवस्था गर्छौँ,’ अध्यक्ष थापाले भने।
‘आफ्नै देशमा उत्पादन भएको विद्युतबाट बस सञ्चालनमा आउने भएकाले हामीले अन्य यातायातको तुलनामा २० देखि २५ प्रतिशतसम्म छुट दिने व्यवस्था गरेका छौँ,’ थापाले भने।
६५ वर्षमाथिका लाई निःशुल्क
सुन्दर यातायातमा ६५ वर्षभन्दा माथि उमेरका जेष्ठ नागरिकले निःशुल्क यात्रा गर्न पाउने छन्। शारीरिक अशक्त भएका व्यक्तिहरुका हकमा समेत सरकारले दिएको सेवाभन्दा उचित सेवा उपलब्ध गराउने बताइएको छ।
यी हुन् विशेषता
सुन्दर यातायातका विद्यतीय बस १० दशमलव ५ मिटर तथा ८ दशमलव ५ मिटर गरी दुई साइजका छन्। एउटा बसको मूल्य १ करोड ६२ लाख छ। कम्पनीले बसलाई ७ वर्षको वारेन्टी दिएको छ।
गाडीको अगाडी र बीच भागमा २ वटा ढोकाहरु राखिएका छन्। दुवै ढोका ड्राइभरको कन्ट्रोलमा खोल्न तथा बन्द गर्न सकिन्छ। यात्रुहरुको सुरक्षा तथा निगरानीका लागि बसमा ७ वटा सिसी क्यामेरा जडान गरिएको छ। चालकबाटै क्यामेराको निगरानी गरिन्छ।
यसै वर्ष २५ वटा विद्युतीय बस
चालु आर्थिक वर्षमा २५ वटा विद्युतीय बस सञ्चालनमा ल्याइने सुन्दर यातायात सञ्चालक समितिले जनाएको छ।
‘हामीले यही महिनाभित्रमा ११ वटा बस भित्र्याउने लक्ष्य लिएका छौँ, चालु आर्थिक वर्ष भित्रै २५ वटा बस भित्र्याउँछौँ,’ अध्यक्ष थापाले भने। जसमध्ये १८ वटा उपत्यका भित्र र बाँकी ७ वटा उपत्यका बाहिर समेत लैजाने अध्यक्ष थापाले बताए। ‘हामीले एक नम्बर प्रदेशमा समेत गाडी लैजाने योजना बनाएका छौँ,’ अध्यक्ष थापाले भने।
चार्जिङ स्टेसनको व्यवस्था
विद्युतीय बसको ब्याट्री चार्जका लागि चार्जिङ स्टेसन काठमाडौंका विभिन्न ३ स्थानमा राखिने व्यवस्था गरिएको छ। तत्कालका लागि सञ्चालक समितिले काठमाडौंको सितापाइला र सुकेधारामा सञ्चालनमा ल्याउने निर्णय गरेको छ। तर सरकारले सो चार्जिङ स्टेशन सञ्चालनका लागि स्वीकृत गरेको छैन।
‘सरकारले स्वीकृति नदिएसम्म हामी चार्जिङ स्टेशन सञ्चालनमा ल्याउन सक्दैनौँ,’ अध्यक्ष थापाले भने, ‘यी दुई स्टेसन सञ्चालनमा ल्याउने निर्देशन नपाएसम्म भत्केको पुलस्थित सुन्दर यातायात प्रालिको ग्यारेजबाटै चार्ज गरेर सञ्चालन गर्नेछौँ।’
चार्जिङ स्टेसनमा ३०, ६० र १२० केभिए क्षमताका चार्जिङ मेसिन राखिन्छ। एक पटकमा ४ वटा विद्युतीय बस चार्ज गर्न सकिने व्यवस्था गरिएको छ। एक पटक फूल चार्ज गरेको बस २ सय ६८ किलोमिटर सजिलै गुड्छ ।
कुन रुटमा चल्छन् विद्युतीय बस?
रिङरोड, नारायणस्थानहुँदै चक्रपथ, भैंसेपाटी, गोंगबु बसपार्कहुँदै सल्लाघारी भक्तपुर, कलंकी ढुंगेअड्डा हुँदै नेपाल मेडिकल कलेजसम्म विद्युतीय बस सञ्चालनमा ल्याइने छ।
विद्युतीय बसको संख्या बढाउँदै लगेपछि सोही अनुसार रुट कायम गरिने सुन्दर यातायात सञ्चालन समितिले जनाएको छ।
अनलाईन पेमेन्ट सिस्टम
सुन्दर यातायातमा यात्रा गर्ने यात्रुले अनलाईन पेमेन्टमार्फत भाडा बुझाउने व्यवस्था गरिएको छ।
जसका लागि यात्रुहरुलाई सुन्दर यातायातले एउटा कार्ड उपलब्ध गराउने छ। सोही कार्डमार्फत यात्रुहरुले भाडा रकम भुक्तानी गर्न सक्ने व्यवस्था छ। जसका लागि नर्मल कार्ड, स्टुडेन्ट कार्ड, कम्पनी कार्ड, सिङ्गल सिटिजन कार्ड, टेम्पोररी कार्ड र सिनियर कार्डको व्यबस्था गरिएको छ।
स्टुडेन्ट कार्डको छुटका लागि सम्बन्धित विद्यालय, कलेजसँग सहकार्य गरिने यातायातका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए।
बसको अगाडीको ढोका नजिकै स्लट मेसिन राखिएको छ। यसमा पैसा जम्मा गर्न मिल्ने तथा सुविधा अनुसारको अनलाइन पेमेन्ट सिस्टम राखिएको छ। ई-सेवा, खल्ती तथा अन्य विभिन्न अनलाइन सेवामार्फत यात्रुहरुले भाडा तिर्न सक्ने व्यवस्था छ।
एउटा कार्ड २ सय १६ मुल्यमा लिएर सो कार्डबापत बोनससहित २ सय ६५ रुपैयाँ बराबरको यात्रा गर्न सकिने व्यवस्था गरिएको बताइएको छ। यो कार्डको अवधि २ वर्षको हुनेछ।
‘टेम्पोररी कार्डको अवधि ३ दिनको हुन्छ, मूल्य ५० रुपैयाँ पर्दछ। ३ दिनभित्र ५० रुपैयाँ बराबरको यात्रा नगरेको खण्डमा सो रकमबाट विभिन्न सुपरमार्केटबाट आबश्यक सामग्री किन्न सकिने तथा अस्पताहरुमा आवश्यक सेवा लिन सकिने व्यवस्था गरिएको छ,’ सुन्दर यातायातका सञ्चालक दिनेश डिसीले भने।
सुन्दर यातायात प्रयोग गर्दा कुनै ठाउँमा काम परेर झर्नुपर्ने भयो र त्यो काम आधा घण्टाभित्र सकियो भने आधा भाडामा सुन्दर यातायात प्रयोग गर्न सकिन्छ। तर पहिले चढेको सुन्दर यातायात कुरेर बस्ने भने होइन, सोही रुट हुँदै सुन्दर यातायातको जुनसुकै बस आइपुगेमा यात्रुले पहिले तिरेको भाडाको आधा भाडा छुट हुन्छ।
उदाहरणका लागि एक जना यात्रु रत्नपार्कबाट कलंकी जाँदैछ। मानौँ रत्नपार्कदेखि कलंकीसम्मको भाडा १२ रुपैयाँ छ, टेकुमा उसको काम परेर झर्यो टेकु झर्दा पनि उसले १२ रुपैयाँ नै तिर्नुपर्छ। टेकुमा उसको काम आधा घण्टाभन्दा अगाडी नै सकियो भने सो व्यक्तिले आधा भाडा अर्थात ६ रुपैयाँ तिरे पुग्छ।
सो व्यक्तिले यसअघि कुन समयमा सुन्दर यातायात प्रयोग गरेको थियो वा कुन रुटको यातायात प्रयोग गरेको थियो भन्ने कुरा सुन्दर यातायातको सिस्टमले नै देखाउँछ।
सुरुमा यात्रुले ह्याण्ड क्यासमार्फत् पनि भाडा बुझाउन सक्नेछन्। तर ह्यान्ड क्यासमाफर्त भाडा बुझाउँदा बोनसलगायत सुविधा भने व्यवस्था गरिएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।