नाडा अटो शोमा १९ दुईपांग्रे र २२ चारपांग्रे ब्रान्ड सहभागी

नेपाल लाइभ | २०७६ भदौ १ आइतबार | Sunday, August 18, 2019 १८:५०:०० मा प्रकाशित

काडमाडौं- सवारी साधनको विशेष मेला नाडा अटो शो-२०१९ मा १९ वटा मोटरसाइकल तथा स्कुटर ब्रान्ड र २२ वटा चारपांग्रे सवारीले सहभागिता जनाउने भएका छन्।

अटो शो आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आइतबार गरेको पत्रकार सम्मेलन गरी यस्तो जानकारी दिएको हो। 

यो वर्षको नाडा अटो शोलाई व्यवस्थित गर्न नाडाले भरपुर प्रयास गरेको अध्यक्ष शम्भुप्रसाद दाहालले बताए।

‘नेपाली बजारमा उपलब्ध अधिकांश दुई तथा चारपांग्रे सवारी यो वर्षको नाडा अटो शोमा सहभागी भएका छन्,’ उनले भने, ‘अटो शोको यो संस्करणलाई भव्य र सभ्य बनाउन हामीले भरपुर कोशिष गरेका छौं।’ े

दुईपांग्रे तथा चारपांग्रे सवारीका साथै अटो शोमा टायर, लुब्रिकेन्टलगायत स्पेयर पार्टस र बैंक तथा वित्तीय संस्थाको समेत सहभागिता रहेको छ।

काठमाडौंको भृकुटीमण्डपमा भदौ १० देखि १५ गतेसम्म हुने अटो शोमा यो वर्ष बँगैचालाई समेत उपयोग गरिएको नाडा अटो शो २०१९ का संयोजक निराकार श्रेष्ठले बताए। 

नाडा अटो शोमा दुईपांग्रे सवारी तर्फ एमभी अगस्टा, बीएमडब्लू, योमा माई, मियामी, सुपरसोको, जिपिएक्स रेसिङ, होन्डा, रनर, रोयल इनफिल्डको सहभागिता हुनेछ। त्यस्तै बजाज, भेस्पा, एनआइयू, बेनेली, सुजुकी, सीएफ मोटो, टिभिएस, हिरो, केटीएम र यामाहाका मोटरसाइकल नाडा अटो शोमा प्रदर्शनीका लागि राखिने छ।

चार पांग्रे सवारी तर्फ एमजी, होन्डा, ड्याटसन, हुन्डाई, इसुजु, रेनो, फक्सवागन, बिवाईडी, फोर्ड, सुजुकी, पिउजोका कार अटो शोमा हुनेछन् । त्यस्तै अटो शो २०१९ मा फोटोन, जिप, स्याङयोङ, टोयोटा, महिन्द्रा, टाटा, किया, माज्दा मित्सुबिसी, निसान र दायका कारहरु हुने छन्। 

६ दिनसम्म चल्ने नाडा अटो शोमा करिब ७५ हजार आगन्तुक आउने अनुमान नाडाले गरेको छ।

अटो शोमा प्रवेशका लागि विद्यार्थीलाई १ सय ५० र अन्यलाई २ सय रुपैयाँ शुल्क तोकिएको छ।

यो वर्षको अटो शोमा डोर प्राइस जिपिएक्स रेसिङको मोटरसाइकल राखिएको छ।