आरओआर आयोजनालाई फेरि निर्माण अनुमति खोल्छौं : मन्त्री पुन

नेपाल लाइभ | २०७६ भदौ १ आइतबार | Sunday, August 18, 2019 १७:५०:०० मा प्रकाशित

काठमाडौं-  ऊर्जा जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले नदी प्रवाहमा आधारित (आरओर) जलविद्युत आयोजनालाई फेरी लाईसेन्स दिन सकिने बताएका छन्। 

नेपाल विद्युत प्राधिकरणको ३४औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री पुनले अर्ध जलाशययुक्त पिकिङ नदी प्रवाहमा आधारित (पिआरओआर) जलविद्युत आयोजनालाई सरकारले प्राथमिकतामा राखेको भएपनि आरओर आयोजनालाई लाईसेन्स दिने काम बन्द नगरिने बताएका हुन्।

सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादनका गर्ने लक्ष्य लिएको छ। जसमध्ये ३५ प्रतिशत अर्थात ५ हजार २ सय ५० मेगावाट बराबरमात्रै आरओर आयोजना बनाउने भन्दै त्यस्ता आयोजनाको सीमासमेत तोकिदिएको छ। 

आरओआर आयोजना संचालन गर्न तोकिएको उक्त सीमा पूरा भएपछि प्राधिकरणले थप आरओआर आयोजनालाई निर्माण अनुमति दिएको छैन। तर मन्त्री पुनले भने यसअघि तोकिएको सीमालाई संशोधन गरेर भएपनि आरओआर आयोजनालाई निर्माण अनुमति दिने बताएका हुन्। 

‘आरओआर प्रकृतिका आयोजना फेरि खोल्न सकिन्छ। हाम्रो प्राथमिकता त पिआरओआर आयोजना नै बनाउने भन्ने हो। तर पिआरओआर आयोजना बन्न नसक्ने अवस्थामा हामी आरओआर आयोजनालाई पनि अनुमति दिन्छौं,’ मन्त्री पुनले भने। 

निजी क्षेत्रले जति धेरै विद्युत उत्पादन गरेपनि प्राधिकरणले खरिद गर्ने पनि उनको भनाई छ। ‘अब हामीले बनाएका आयोजनाको विद्युत खरिद हुँदैन कि भन्ने निजी क्षेत्रलाई लागेको हुन सक्छ। तर तपाई ढुक्क भएर लगानी गर्नुहोस्। हामी पिपिए गर्छौं। खरिद गर्छौं,’ पुनले भने। 

नेपालमा विद्युत खपत बढ्दै गएको र अन्तर्राष्ट्रिय बजारमा नेपालले विद्युत व्यापार गर्न सक्ने वातावरण बन्दै गएको भन्दै पुनले जलविद्युत क्षेत्रमा ढुक्क भएर लगानी गर्नसमेत निजी क्षेत्रलाई आग्रह गरेका छन्।