सेन्ट्रल जोन भलिबल : बलियो कीर्गिस्तानविरुद्ध के गर्ला नेपालले ?

नेपाल लाइभ | २०७६ भदौ १ आइतबार | Sunday, August 18, 2019 १७:५९:०० मा प्रकाशित

काठमाडौं - पाँचौँ एभिसी एसियन सेन्ट्रल जोन भलिबलको पहिलो खेलमा कीर्गिस्तानविरुद्ध खेल्दै नेपालले सोमबार प्रतियोगिताको सुरुवात गर्दै छ। बलियो मानिएको कीर्गिस्तानसँगको खेलले नेपालको अघिल्लो चरणको सम्भावना देखिने छ। 

सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र लखनखेलमा उद्घाटन कार्यक्रमअघि बिहान १० बजे समूह ‘बी’ मा रहेका तुर्कमेनिस्तान र अफगानिस्तानबीच पहिलो खेल हुनेछ। दोस्रो खेल दिउँसो ४ बजे समूह ‘ए’ मा रहेका नेपाल र कीर्गिस्तानबीच हुने तय भएको हो। 

नेपाल र कीर्गिस्तानसहित माल्दिभ्स समूह ‘ए’ मा रहेका छन्। जसले एक खेल जितेमा मात्रै अघिल्लो चरणमा पुग्ने सम्भावना बलियो बन्ने छ। समूह ‘बी’ मा तुर्कमेनिस्तान र अफगानिस्तानसहित उज्वेकिस्तान र अफगानिस्तान रहेका छन्। तुर्कमेनिस्तान चौथो एभिसी एसियन सेन्ट्रल जोन भलिबलको विजेता टिम पनि हो। त्यसअघिको संस्करणमा भने तुर्कमेनिस्तानलाई ३-१ को सेटमा हराएर कीर्गिस्तानले नै उपाधि जितेको थियो। 

प्रतियोगिताअघि अफगानिस्तानको टिमसँग दुई मैत्रीपूर्ण खेल खेलेको नेपालले दुवै खेल जितेको थियो। योसँगै घरेलु कोर्टमा दर्शकको साथले पनि नेपाली खेलाडीलाई सकारात्मक उर्जा मिल्ने छ। तर, कीर्गिस्तानसँगको नेपालको विगत भने सुखद देखिँदैन। पछिल्लो पटकका पाँच खेललाई हेर्ने हो भने नेपाल चार खेलमा पराजित भएको थियो। 

जितेको एक खेल पनि बिना प्रतिस्पर्धाको जित थियो। गएको वर्ष इन्डोनेसियामा भएको एसियाली खेलकुदमा १५ औं वरियताको खेलमा कीर्गिस्तान अनुपस्थित भएपछि नेपाललाई ३-० ले खेल जिताइएको थियो। यसैले नेपालको पहिलो खेल नै कठीन देखिएको छ।

०७३ सालमा सेन्ट्रल जोन भलिबलका बेला समूह चरणमा नेपाल कीर्गिस्तानसँग ३–१ को सेटमा पराजित भएको थियो। यसै प्रतियोगिताको सेमिफाइनलमा पनि नेपाल कीर्गिस्तानसँग ३-१ को सेटमा नै पराजित भएको थियो। नेपालले एक सेट मात्रै भए पनि जित्न सकेको यसै प्रतियोगितामा थियो। 

०७४ सालमा भएको सेन्ट्रल जोन भलिबलका बेला नेपाल कीर्गिस्तानसँग ३–० को सेटमा पराजित भएको थियो। यस्तै ०७५ सालमा भएको सेन्ट्रल जोन भलिबलका बेला नेपाल ३-० को सेटमा नै पराजित भएको थियो।

नेपाल भलिबल संघको आयोजना र एसियन भलिबल संघको संयोजनमा हुने प्रतियोगितामा दुवै समूहबाट शीर्ष दुईमा पर्ने टिम सेमिफाइनलमा पुग्नेछन्। समूहको तेस्रो स्थानमा आउने दुई टिम पनि पाँचौँ र छैटौँ स्थानका लागि खेल्नेछन्। साथै सेमिफाइनलमा पराजित दुई टिमले पनि तेस्रो स्थानका लागि खेल्नेछन्। 

नेपालले समूह चरणको दोस्रो खेलमा बुधबार बेलुका पाँच बजे माल्दिभ्ससँग खेल्नेछ। 

प्रतियोगिताका लागि १४ सदस्यीय नेपाली टिममा कप्तान इमबहादुर मगर, धनबहादुर भट्ट क्षेत्री, राजेन्द्र विष्ट, हरिबहादुर अधिकारी, दुर्गा खड्का, नरेन्द्र गिरी, हरिहजुर थापा, ईश्वर थापा मगर, विशाल बिक, कुलबहादुर थापा, दिपक राज जोशी, टेकराज अवस्थी, राजकुमार निरौला र विनोद बहादुर चन्द रहेका छन्।

यस्तै कीर्गिस्तानको टिममा मनाजबेक नुराली उउलु, कुतमानबेक एब्सातारोभ, मेदेतबेक अर्गेस उउलु, क्लिचबेक सर्बागेसएभ, नुर्मुखामेद टोकतेभ, इमिल इदिरिसोभ, ओनोलबेक कानीबेक उउलु, दामिर गाजिनुर उउलु, तेमिर मुसा उउलु, ओमुरबेक झुनसोभ, जमालिदिन मुसेभ, अल्बर्ट ओराजाबी उउलु, रोमान सिलोभ र बाइअस्तान झिर्गालबेक उउलु रहेका छन्।