इस्तानबुल- बार एसोसिएसनमा आवद्ध टर्कीका दर्जनौं वकिलहरुले राष्ट्रपतिको कार्यक्रम बहिस्कार गर्ने बताएका छन्।
राष्ट्रपतिको कार्यालयमा आयोजित कार्यक्रम वकिलहरूले बहिस्कार गर्ने भनी घोषणा भएको टर्कीमा यो पहिलो घटना भएको अधिकारीहरुले जनाएका छन्।
नयाँ न्यायिक वर्षको उद्घाटन समारोह उनीहरुले बहिस्कार गर्नेछन्। उनीहरूले न्यायिक सिद्धान्तको उल्लङ्घन भएको तर्क गरेका छन्।
देशभरका ४२ प्रान्तमा रहेका बार एसोसिएसनमा आवद्ध वकिलहरुले कार्यक्रममा सहभागी नहुने घोषणा गरेका हुन्। उनीहरुले आउँदो सेप्टेम्बर २ तारिखमा हुने कार्यक्रममा सहभागी नहुने घोषणा गरेका हुन्।
बहिस्कारको नेतृत्व भने इजमिर बार एसोसिएसनले बिहीबार लिएको हो। देशभरका ७९ ओटा प्रान्तका बार एसोसिएसनका लागि निमन्त्रणा गएपछि बारले यस्तो निर्णय लिएको जनाइएको छ।
कार्यकारी प्रमुखको कार्यालयमा हुन लागेको कार्यक्रममा छुट्टै र स्वतन्त्र अंगको रुपमा रहेको न्यायपालिकालाई अपमान गर्न खोजिएको वकिलहरूको भनाइ छ।
यो न्यायिक प्रणाली र शक्ति पृथकीकरणको सिद्धान्तविपरीत रहेको बारले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ।
वक्तव्यमा भनिएको छ, 'हामी यो खेलमा छैनौं, हामीले अरुलाई पनि बहिस्कारमा सहभागी हुन आह्वान गरेका छौँ।' रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।