काठमाडौं- साहित्यकार विज्ञता कार्कीको निबन्धसंग्रह 'आँचलको आँगन' सार्वजनिक भएको छ। कार्कीको जन्मदिनको दिनमै शनिबार सो कृति लोकार्पण गरिएको हो।
रत्न राज्यलक्ष्मी क्याम्पसको सभाहलमा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले सो पुस्तकको लोकार्पण गरे।
लेखक कार्कीले आफ्नो १८औं जन्मदिनको अवसर पारेर पाँचौ कृति सार्वजनिक गरेकी हुन्। ‘आँचलको आँगन’मा विद्रोहको भाव र सामाजिक न्यायको चर्चा गरिएको छ।
कार्यक्रममा मन्त्री भट्टराईले भने, ‘कला, संस्कृति र साहित्यिक क्षेत्रबाट अनेक जातजाति, भाषा, धर्मलाई एकतामा बाँध्नुपर्छ। लेखक कार्कीजस्ता साहित्यिक व्यक्तिले साहित्यमार्फत एकताको सन्देश दिनुपर्दछ।’
उनले २० बर्ष मुनिका किशोर लेखकहरुलाई ध्यानमा राखेर संस्कृति मन्त्रालयले पुरस्कारको समेत घोषणा गर्ने बताए।
कार्यक्रममा बोल्दै लेखक कार्कीले महिला र समाजलाई तुलना गरेर लेखिएका विभिन्न विषयका निबन्धलाई पुस्तकमा समेटेको बताइन्। ‘नेपाली समाज र महिलाका विभिन्न विषयमाथि लेखिएका निबन्धहरू पुस्तकमा समावेश गरिएको छ,’ उनले भनिन्।
पुस्तकमा ‘जटिल जन्म’, ‘प्रश्नको पर्खाल’, ‘आँसुको आक्रोश’ र ‘चिन्ताको चिता’लगायतका १८ वटा निबन्ध समेटिएको छ।
कार्यक्रममा डा सरोज धिताल, खगेन्द्र राई, विज्ञताका बुवा एवं साहित्यकार विनोद मञ्जनले पनि आफ्नो धारणा राखेका थिए। पुस्तक अंग्रेजी र नेपाली दुवै भाषामा लेखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।