काठमाडौं- क्याप्टेन दधिराम निरौलाको पुस्तक ‘आकाश यात्रा’ आइतबारदेखि बजारमा आएको छ।
कार्यक्रमका प्रमुख अतिथि सत्यमोहन जोशी, लेखक क्याप्टेन निरौला, प्रकाशक तथा घोस्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकाल, क्याप्टेन भिके श्रेष्ठ, क्याप्टेन कोश कुमार थापा, क्याप्टेन बिएन अमात्य, लेखक निरौला पत्नी बिना लगायतले सामूहिक रुपमा पुस्तकको लोकार्पण गरेका थिए।
लोकार्पण कार्यक्रमका प्रमुख अतिथि शताब्दी पुरुष सत्यमोहन जोशीले आकाश विधामा लेखिएको यो किताब आफूले जीवनमा पहिलो पटक विमोचन गर्न पाएको भन्दै खुशी व्यक्त गरेका थिए। उनले भने, ‘नेपालमा आकाशको विधामा धेरै किताब नभएकोले यो आकाश यात्रा किताबले भोलिका पुस्तालाई एक दस्तावेज छाडेको छ।’
कार्यक्रममा क्याप्टेन कोशकुमार थापाले पाइलटको जीवनमा धेरै रमाइलो र रोमाञ्चक घटना हुने भएकाले पुस्तक रोमाञ्चक रहेको भन्दै पुस्तकको प्रशंसा गरेका थिए।
प्रकाशक र लेखनको संस्था घोस्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले नेपालमा मानव जीवनको दस्तावेज बनाउन आफूहरुले शुरु गरेको यो अभियानको पछिल्लो कडीको रुपमा यो पुस्तक आएको बताएका थिए। अध्यक्ष ढकालले भने, ‘जीवन एकपल्ट मात्र पृथ्वीमा आउने हुनाले आफ्नो जीवनको दस्तावेज बनाउनु जरुरी छ। त्यो काम दधिराम निरौलाले गर्नु भएकोमा खुशी लागेको छ।’
पुस्तकका लेखक क्याप्टेन निरौला पत्नी बिनाले पाइलटको जीवन आकाशमा हुने र पत्नीको जीवन धर्तीमा हुने हुनाले सँधै लागेको डरको पनि यो पुस्तक एउटा दस्तावेज भएको बताएकी थिइन्। उनले भनिन्, ‘पाइलटको जीवनमा परिवारको लागि समय एकदमै कम हुँदाको बखतमा दुःखित भए पनि यो पीडा सहितको किताब बन्दा खुसी लागेको छ।’
लोकार्पण कार्यक्रममा लेखक क्याप्टेन निरौलाले एक मानवले भोगेको जीवन अर्को मानवको लागि प्रेरणा हुन्छ भन्दै पूर्व गभर्नर गणेश बहादुर थापाका भाइले प्रेरित गरेर तथा घोस्ट राइटिङ नेपालले करबल गरेर नै आफ्नो जीवनको पुस्तक बनाएको बताएका थिए। उनले भने, ‘आफ्नो बेलाको पाइलटको दुःख र संघर्ष सहितको आकाशको यात्रा भएकोले पुस्तकको नाम आकाश यात्रा राखिएको हो।’
कार्यक्रममा प्रोफेसर रत्नराज निरौला, लेखककी नातिनी सारांशा र भतिजी सुप्रिया, हवाई क्षेत्रका रोशन श्रेष्ठ लगायतले पुस्तक र लेखकको बारेमा प्रकाश पारेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।