काठमाडौं - प्रहरीको पेस्तोल खोसेर भागेका भूमिगत तराई मुक्ति मोर्चाका १ कार्यकर्ता पक्राउ छन् ।
पक्राउ पर्नेमा रौतहटो गरुडा नगरपालिका-२ का ४२ वर्षीय रामएकवाल सहनी छन् ।
२०६७ मंसिर १७ गते राति १० बजे इलाका प्रहरी कार्यालय हर्कटवा सर्लाहीबाट सई लवजंग चौहानको कमाण्डमा खटिएको प्रहरी टोली र भूमिगत तराई मुक्ति मोर्चाका ५ जना हतियारधारी सदस्यबीच भवानीपुरमा जम्काभेट हुँदा गोली हानाहान भएको थियो ।
त्यसबेला उक्त मोर्चाका सदस्यले प्रहरीको ५४ एमएम को ठूलो चाइनिज पेस्तोल नै लुटेर फरार भएका थिए ।
कर्तव्य ज्यान मुद्दामा समेत संलग्न रहेका उनीहरु भागेर रौतहट साबिकको भलोहिया गाविस ७ (हाल दुर्गा भगवती गाउँपालिका-२) पुगेका थिए ।
सोही ठाउँबाट प्रहरीले भूमिगत तराई मुक्ती मोर्चाका ५ जना मध्ये २ जनालाई कटुवा पेस्तोल १/१ थान र खोका २ थान सहित पक्राउ गर्न सफल भएको थियो । त्यसबेला तर भाग्न सफल भएका सहनीलाई रौतहटको क्राइम इन्भेष्टिकेशन टिम (सिटिआइ)ले सोमबार गरुडास्थित झाझपुलबाट पक्राउ गरेको हो ।
हातहतियार खरखजना मुद्दामा आवश्यक कारबाही सकिएपछि कर्तव्य ज्यान मुद्दाको थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सर्लाही पठाइने रौतहट प्रहरीले जनाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।