काठमाडौं– विपद् व्यवस्थापन र उद्धारका काम गर्दै आएको सशस्त्र प्रहरी बलले इमिडिएट रेस्पोन्स टिम (आइआरटी) मार्फत एम्बुलेन्स पनि सञ्चालनमा ल्याएको छ।
यथाशीघ्र सेवा, सुरक्षा, उद्धार लगायतका घटनामा काम गर्दै आएको सशस्त्र प्रहरीले देशभर दैनिक रुपमा करिब ८५ वटा छुट्टाछुट्टै आइआरटी परिचालन गर्दै आएको छ। ८५ वटा आइआरटीमध्ये २५ वटा टिमलाई भने एम्बुलेन्स उपलब्ध गराइएको बलका प्रवक्ता सुरजकुमार श्रेष्ठले बताए।
यी टोलीहरु चौबीसै घन्टा राजमार्गमा तैनाथ रहनेछन्। ‘आइआरटीले कुनै पनि बेला यथाशीघ्र सेवा, सुरक्षा तथा सहयोग र आपत विपदमा तत्कालै काम गर्छ,' उनले भने।
यस टोलीमा प्राथमिक उपचारका सामग्रीसमेत हुन्छन्। २५ वटा एम्बुलेन्समध्ये ८ वटा भने ठूला एम्बुलेन्स छन्। जसले ठूला दुर्घटनाका घाइतेहरुलाई सामूहिक रुपमा उद्धार गर्न स्वास्थ्यकर्मी र आपतकालीन स्वास्थ्य सुविधासहितको काम गर्नेछन्।
यी ठूला ८ वटा आइआरटी एम्बुलेन्सहरु सुनसरीको पकली, बाराको पिलुवा, महोत्तरीको बर्दिवास, चितवनको कुरिनटार, काठमाडौंको बलम्बु, कपिलवस्तुको चन्द्रौटा, बाँकेको कोहलपुर र कैलालीको अत्तरियामा तैनाथ गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
उक्त एम्बुलेन्समा ४ जना बिरामीलाई सुताएर, र ८/१० जना बिरामीलाई बसाएर प्राथामिक उपचारसहित अस्पतालसम्म लैजान सकिने व्यवस्था रहेको छ। जसले गर्दा सडक दुर्घटनामा परेका घाइते तथा बिरामीहरु अस्पताल नपुग्दै ज्यान गुमाउने अवस्थामा न्यूनीकरण हुने विश्वास लिइएको छ।
त्यस्तै अन्य उद्धारका कार्यलाई पनि प्राथमिकतामा राखेर प्रभावकारी काम गरिरहेको सशस्त्रले जनाएको छ। त्यसका लागि दक्ष जनशक्ति उत्पादनका लागि भन्दै तालिमको व्यवस्था गरिँदै आएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
सशस्त्र प्रहरीले ६ सय ६२ विद्यालय र १ सय २६ क्लबमा गरी जम्मा ६७ हजार ३ सय २१ जना स्थानीयलाई विपद् जोखिम न्यूनीकरण सम्बन्धी जनचेतना तालिमसमेत दिइएको सशस्त्रले जनाएको छ। गत आर्थिक वर्षमा ४२ हजार ७ सय ७८ सशस्त्र प्रहरी कर्मचारी उद्धारमा परिचालित भई ७ हजार ९ सय ८० जनाको उद्धार गरिएको प्रधान कार्यालयको तथ्यांक छ।
त्यस्तै दैनिक सशस्त्रका १५ हजार फौजले १८ सयभन्दा बढी स्थानमा खटिएर सुरक्षा दिने गरेका छन्। ७ हजारभन्दा बढी जनशक्ति भने देशभरका विभिन्न ब्यारेकमा चौबिसै घन्टा हाई अलर्टमा बस्ने गरेका छन्।
सशस्त्रले आफ्नो चेन अफ कमान्डमा समेत केही परिवर्तन गरिएको जनाएको छ। नयाँ संरचना अनुसार तालिम शिक्षालयहरु बाहेक सबै इकाइहरुको परिचालनमा बाहिनीको कमाण्ड रहनेछ। जिल्लामा रहेका सबै युनिटको कमान्ड सम्बन्धित जिल्लाको गणबाट गरिने गरी नयाँ चेन अफ कमान्डको व्यवस्था मिलाइएको छ।
सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा प्रवक्ता श्रेष्ठले सशस्त्र प्रहरीले गरेका कामहरुको बारेमा जानकारी गराएका थिए।
प्राकृतिक तथा मानवजन्य विपदको अवस्थामा नजिकको एपिएफ इकाइबाट तत्कालै टोली परिचालन गर्ने व्यवस्था मिलाइएको छ।
४१ थान हतियार बरामद, ७७० जना पक्राउ
सशस्त्र प्रहरी बलले गत आर्थिक वर्षमा नेपालका विभिन्न ठाउँबाट ४१ थान हातहतियार बरामद गरेको छ। विभिन्न किसिमका अवैध पेस्तोल/बन्दुक बरामद गर्नुका साथै त्यसमा लाग्ने २ सय ५८ राउन्ड गोली पनि बरामद गरिएको सशस्त्रले जनाएको छ। यस क्रममा १३ थान म्यागजिनसमेत बरामद भएका छन्।
त्यस्तै विभिन्न आपराधिक गतिविधिमा संलग्न रहेका ७ सय ७० जनालाई गत आर्थिक वर्षमा पक्राउ गरिएको छ। चोरीपैठारी निकासी नियन्त्रणमा पनि उल्लेख काम गरिएको सशस्त्रले जनाएको छ।
गत आर्थिक वर्षमा ४७ करोड ३८ लाख ९१ हजार ८ सय २९ रुपैयाँ बराबरको चोरीपैठारी निकासीका सामानहरु बरामद गरिएको प्रवक्ता श्रेष्ठले बताए। यसअघि आर्थिक वर्ष २०७४/७५ मा १४ करोड ४२ लाख ४० हजार ९ सय २० रुपैयाँ बराबरको चोरीपैठारी निकासीका सामानहरु बरामद गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।