काठमाडौं– कालो बाहुला भएको सेतो-कालो चेक सर्ट। सेतो-कालो चेक पाइन्ट। कालो वर्ण। ख्याउटे शरीर।
यिनै हुलिया भएका एक युवा कतार एयरवेजको एक जहाजबाट बुधबार दिउँसो करिब साढे ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लन्छन्।
उनको हाउभाउ र हिँडाइ केही हतारिए जस्तो देखिन्छ। निकै शंकास्पद तरिकाले पल्याकपुलुक गर्दै उनी अघि बढ्छन्। निलो रङको आफ्नो सुटकेस घिसार्दै उनी एक्स–रे मेसिनसम्म पुग्छन्।
मेसिनको जाँच सकिएपछि केही ढुक्कको सास फेर्दै बाहिर निस्केका उनी त्यतिबेला झसंग हुन्छन्, जतिखेर उनलाई सादा पोसाकका प्रहरीले पक्राउ गर्छन्। प्रहरीले उनलाई पक्राउ गर्दा ४ बजेर ५८ मिनेट गइसकेको थियो।
यसरी प्रहरीले पक्राउ गरेका व्यक्ति हुन्, आइभरीकोस्टका ३५ वर्षीय मार्सेल गुली।
गुली त्यस्ता व्यक्ति हुन्, जो केही पैसामा लोभिएर आइभेरीकोस्टदेखि अवैध कोकिनको भारी बोक्न नाइजेरिया पुग्छन्।
नाइजेरियामै सुटकेसभित्र फल्स बटम बनाई तलमाथि दायाँबायाँ काठको प्लाइउड राखिन्छ। त्यसभित्र कागजको पाता बनाइन्छ। ताकि सुटकेस खोल्दा ती प्लाइउड र कागजका पाता सुटकेसको कभरमै टाँसिउन्। कसैले थाहा नपाओस्। यसरी बनाइएको फल्स बटममा थियो, १ किलो ६ सय ग्राम कोकिन।
सोही परिमाणको कोकिनसहित उनी विमानस्थलमा पक्राउ परेका हुन्। जसको बजार मूल्य ४ करोड ८० लाखभदा बढी रहेको लागुऔषध नियन्त्रण ब्युरोका डिआइजी दिनेश अमात्य बताउँछन्।
उक्त कोकिन बोकेर नाइजेरियाको लागोसबाट २० अगस्टमा उनी कतारको राजधानी दोहा आएका थिए। दोहाबाट २१ अगस्ट अर्थात् हिजो बुधबार काठमाडौं आएका गुली नेपाल प्रहरीको फन्दामा परे।
प्रहरीले लामो समयदेखिको अनुसन्धान, विश्लेषण र सूचना अनुसार कोकिन बोकेर मार्सेल गुली नेपाल आउँदै गरेको भन्ने खबर पाएको थियो। सोही अनुसार ब्युरोको टोली सादा पोसाकमा विमानस्थलमा गुलीलाई कुरेर बसेको थियो।
एक्स–रे मेसिन पार गरेर बाहिन आउनसाथ उनी ब्युरोको टोलीको नियन्त्रणमा परिहाले।
सोल्टी होटलमा बुक
पक्राउ परेका गुली पहिलो पटक नेपाल आएका व्यक्ति हुन्। ठूलो मात्रामा कोकिन लिएर आएका उनले नाइजेरियाबाटै कालिमाटीस्थित सोल्टी होटलमा कोठा बुक गरेको पाइएको छ। यद्यपि उनी सोल्टी होटल पुग्न नपाउँदै पक्राउ परे।
सोल्टी होटल बुक गर्नुको अर्थ भने उनले प्रहरीलाई छक्याउन गरेको हुन सक्ने ब्युरोका एसएसपी वसन्त लामा बताउँछन्। ‘पक्राउ परेका गुलीको लवाइखवाइ हेर्दा उनी भरिया जस्तो देखिन्छन्। त्यति महँगो होटलमा उनी बस्ने जस्तो पनि देखिँदैन,’ एसएसपी लामाले भने, ‘प्रहरीलाई छक्याउन सोल्टी होटल बुक गरेजस्तो गर्ने तर अन्तै बस्ने योजना पनि हुन सक्छ।’
बरामद गरिएको उनको पासपोर्टमा सेम्टेम्बर २ सम्म नेपालको भिसा रहेको पाइएको छ। यति लामो समयसम्म उनी नेपाल नै बसे पनि सोल्टी होटलमा बस्न सक्ने व्यक्ति हुन् भन्नेमा प्रहरीको शंका छ।
६ महिनाको भारत भिसा
१ ग्रामकै २५ देखि ३० हजार रुपैयाँसम्म पर्ने लागुऔषध कोकिनको विशेषगरी युरोपियन देशहरुमा खपत हुन्छ। दक्षिण एसियाका देशहरुमा भने भारत, जापान, चीन जस्ता देशमा खपत हुने गरेको अनुसन्धान अधिकारी बताउँछन्।
सोही अनुरुप यो कोकिनको गन्तव्य पनि भारत रहेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ। पक्राउ परेका गुलीको साथबाट बरामद भएको १९ एटी ९५५१४ नम्बरको पासपोर्टमा भारतको भिसासमेत लागेकाले उक्त कोकिन भारत जाने तयारी रहेको ब्युरोका प्रवक्ता एसपी कृष्ण प्रसाई बताउँछन्। प्रहरीले बरामद गरेको उनको पासपोर्टमा अप्रिलदेखि अगस्टसम्मका लागि भारतको भिसा लागेको छ।
नेपाललाई ट्रान्जिट बनाएर यसअघि पनि लागुऔषध तस्करी हुने गरेका घटना सार्वजनिक हुँदै आएका छन्। पहिले बरामद भएका कोकिन पनि नेपाली भूमि प्रयोग गर्दै खुल्ला सीमाको फाइदा उठाउँदै भारत पठाउने योजना बनाइएको प्रहरीले विश्लेषण गरेको छ।
६ वर्षमा साढे ३८ किलो कोकिन बरामद
लागुऔषध नियन्त्रण ब्युरोले विगत ६ वर्षको अवधिमा ३८ किलो ७ सय २५ ग्राम कोकिन बरामद गरेको छ। ब्युरोले सन् २०१४ मा ५ किलो ४९९ ग्राम कोकिन बरामद गरेको थियो।
त्यस्तै सन् २०१५ मा ११ किलो कोकिन बरामद भएको थियो। सन् २०१६ मा सबैभन्दा बढी १३ किलो ६२६ ग्राम बरामद भएको ब्युरोको तथ्यांक छ। सन् २०१७ मा ५ किलो, सन् २०१८ मा २ किलो र अहिले सन् २०१९ मा १ किलो ६ सय ग्राम कोकिन बरामद गरेको हो।
जर्मनीमा मात्रै केही महिनाअघि विभिन्न समयमा बरामद गरिएका ४ दलशमलव ५ मेट्रिक टन कोकिन बरामद गरेर नष्ट गरेको थियो।
त्यस्तै प्रहरीले आर्थिक वर्ष २०६८/६९ देखि अहिलेसम्म १ नेपालीसहित २४ जना विदेशी नागरिक कोकिनसहित नेपालमा पक्राउ परेका छन्। पक्राउ परेका मध्ये धेरैजसो चिनियाँ, पाकिस्तानी, थाइल्याण्ड, बोलिभियन र मलेसियन नागरिक छन्।
कोकिन तस्करीका उपाय अनेक
विभिन्न तरिकाहरु अपनाएर कोकिनको ओसारपसार हुँदै आएको छ। केही समयपहिले स्याम्पुको बट्टामा झोल बनाएर कोकिन नेपाल ल्याइएको थियो। सन् २०१६ को मार्चमा झोल कोकिनको रुपमा नेपाल भित्रिएको उक्त घटना निकै नौलो थियो।
त्यस्तै स्याम्पु र लोसनको बट्टामा पाउडर बनाएर पनि कोकिन नेपाल आइपुगेको थियो। त्यस्तै नयाँ तरिका अपनाएर बुधबार सुटकेस ब्यागमा लुकाएर कोकिन नेपाल आइपुगेको हो।
अन्तर्राष्ट्रिय तस्करहरुले पक्राउ पर्नबाट जोगिन नयाँनयाँ तरिका अपनाएर कोकिन तस्करी गर्दै आएका छन्। पोर्चुगल तथा स्पेनका प्रहरीले केही समय पहिला भुइँकटहरमा लुकाएको अवस्थामा कोकिन बरामद गरेका थिए।
दक्षिण अमेरिकाबाट पोर्चुगल तथा स्पेन ल्याइएको भुँइकटहर शंका लागेर प्रहरीले जाँच गर्दा भित्री भागको गुदी निकालेर त्यसमा कोकिन राखी बोक्रालाई प्राकृतिक जस्तै गरी बन्द गराइएको पाइएको थियो। यो घटना ८/९ महिनाअघिको हो।
त्यसबेला भुँइकटहरमा राखेर ल्याइएको ७ सय ४५ किलो कोकिन बरामद भएको थियो भने ९ जना पक्राउ परेका थिए।
हेर्नुस् भिडियो-
सन् २०१५ जुनमा कोलम्बियाको विमानस्थलमा होन्डुरसकी एक महिलाले वक्षस्थलमा ट्रान्सप्लान्ट गरेर तीन पाउन्ड झोल कोकिन समेत बोकेको समाचार सार्वजनिक भएको थियो।
पछिल्लो समय विभिन्न ब्राण्डका रक्सी र जुसको बोतलमार्फत झोल कोकिन पनि तस्करी हुँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।