बलिउडका चर्चित फिल्म लेखकको अनुरोध : प्लिज, हाम्रो कथा नचोर्नुस्, फस्नुहोला!

रोबिन भट्ट | २०७६ भदौ ५ बिहीबार | Thursday, August 22, 2019 २२:१७:०० मा प्रकाशित

बलिउडका चर्चित फिल्म लेखक हुन्- रोबिन भट्ट। बलिउडमा उनले लेखेका दर्जनौं फिल्म व्यवसायिक रुपमा हिट भएका छन्। ‘आशिकी’, ‘बाजिगर’, ‘कोइ मिल गया’, ‘काइट्स’, ‘कृस’, ‘ओमकारा’, ‘चेन्नई एक्सप्रेस’ उनले लेखेका हिटको सूचीमा अघि आउने फिल्म हुन्। उनी भारतको स्क्रिप्ट राइटर एसोसिएसनका अध्यक्ष समेत हुन्। खासमा उनी निर्देशक बन्न चाहन्थे तर समयले 'राइटर' बनायो। त्यो पनि यति हिट कि उनलाई कहिल्यै निर्देशक बन्ने फुर्सद नै मिलेन।

हाल उनी नेपाल आएका छन्, नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीले आयोजना गरेको पटकथा लेखन कार्यशालामा प्रशिक्षण दिन। मकवानपुरको चित्लाङमा कार्यशाला भइरहेको छ। बलिउडको स्क्रिप्ट लेखनमा नेपालको जस्तै समस्या छ कि छैन? नेपाली फिल्मले बलिउडको नक्कल गर्दा बलिउड किन चुप लाग्छ? बलिउडले नेपाली फिल्मलाई किन सँधै 'क्रिमिनल हब'का रूपमा देखाउँछ? नेपाल लाइभका अनिल यादवले चित्लाङमै पुगेर लेखक भट्टसँग गरेको कुराकानीः

२९ वर्षदेखि बलिउडमा स्क्रिप्ट लेखिरहनुभएको छ। तर तपाईंका एकाधबाहेक अधिकांश फिल्म मसलादार र कमर्सियल छन्। यसको ह्याङबाट बाहिर निक्लिनुपर्छ भन्ने कहिल्यै लागेन?
सिनेमा बिजनेस हो, यसमा म बलियो विश्वास राख्छु। यदि प्रोड्युसरले पैसा कमाएन भने उसले अर्को फिल्म बनाउँदैन। उसलाई त घाटा हुन्छ, हुन्छ। फिल्म नबनाएपछि मैले पनि काम नपाउने अवस्था हुन्छ। त्यसैले यस्तो फिल्म बनाउनुपर्छ, जसले व्यापार राम्रो गरोस्, प्रोड्युसर फाइदामा पुगोस् र फेरि अर्को फिल्ममा काम गर्ने अवसर दिलाओस्। १४ वर्षदेखि मैले राकेश रोसनको फिल्म लेख्न पाइरहनुको कारण पनि त हिट भएरै हो, नत्र कसले लिन्थ्यो मलाई?

बलिउडमा सुपरहिरो टाइपको फिल्म पहिलोपल्ट मैले लेखें। बाजिगर त्यस्तो फिल्म थियो जहाँ पहिलोपल्ट भिलेन हिरो थियो। नयाँनयाँ प्रयोग गर्दै नगरेको होइन मैले, गरेको छु। तर, म के भन्छु नयाँ-नयाँ प्रयोग गरेरमात्रै हुन्न, त्यस्ता प्रयोगात्मक फिल्म बजारमा चल्न पनि जरुरी हुन्छ। खाली समीक्षकको ४/५ रेटिङ मिलेर हुँदैन, दर्शकलाई पनि मन पर्नुपर्छ। त्यसैले फिल्म त्यस्तो हुनुपर्छ जुन दर्शकलाई पनि मन परोस्, क्रिटिक्सलाई पनि मन परोस् र पैसा पनि कमाओस्।

तर, तपाईंका त अधिकांश फिल्म समीक्षकले रुचाएनन् नि, हैन र?
त्यस्तो पनि होइन। ओमकारा, यू में और हम, अतिथि आप कब जाओगे, क्रिसलगायत फिल्मले राम्रै रेटिङ पाएको हो। बरु ‘गोलमाल’ले कम रेटिङ पाएको थियो।

प्रोड्युसरहरु फिल्म हिट होस् भन्ने चाहन्छन्। उनीहरुलाई लाग्छ, रोविन भट्टले लेख्यो भने हिट हुन्छ।

तर, हलमा फेरि सबैभन्दा धेरै कमाउने त्यही फिल्म भयो। अब तपाईं मलाई यो बताइदिनुस् कि ४०/५० जना क्रिटिक्सले फिल्म मन पराउनु राम्रो कि ४०/५० लाख दर्शकले मन पराउनु राम्रो?

व्यक्तिगत रुपमा तपाईंलाई चाहिँ त्यस्तो मसला फिल्म लेख्दा ज्यादा खुसी फिल्छ या ‘ओमकारा’जस्तो राम्रो समीक्षा पाउने फिल्म?
‘ओमकारा’ जस्तो पनि मन पर्छ, त्यसैले लेख्छु नि...।

तर, आक्कलझुक्कल मात्रै?
निर्माताले पनि यस्तो फिल्मको अफर लिएर आक्कलझुक्कल नै आउँछन् नि त। जति पनि आउँछन्, ‘चेन्नई एक्सप्रेस’जस्तो साढे ३ करोड दर्शकमा तहल्का पिट्ने खालको फिल्म लेखेर दिनु भन्दै आउँछन्। म त स्क्रिप्टको पसल न हुँ। मान्छेहरु म कहाँ जस्तो खालको स्क्रिप्ट माग्छन्, मैले त्यस्तै खालको दिने न हो। तर, जो प्रयोगात्मक सिनेमा बनाउँछन्, उनीहरु पनि गलत चाहिँ छैनन् है।

तर, मेरो विधा होइन त्यो। मेरो विधा कमर्सियल फिल्म नै हो। प्रोड्युसरहरु फिल्म हिट होस् भन्ने चाहन्छन्। उनीहरुलाई लाग्छ, रोविन भट्टले लेख्यो भने फिल्म हिट हुन्छ। त्यस्तै ठूलाठूला स्टारलाई पनि मैले स्क्रिप्ट लेख्दैछु भन्यो भने खुसीसाथ फिल्म खेल्न तयार हुन्छन्। मलाई लाग्छ, पैसा कमाउनु कुनै खराब कुरा होइन। त्यसैले म कमर्सियल स्क्रिप्ट लेख्छु।

तपाईंका लागि फिल्म पहिला कला हो या पैसा?
पहिला त पैसा नै हो, अनिमात्रै अरु कुरा। 

किन?
किनभने फिल्म मेकिङ इज अ बिजनेस, नट अ आर्ट फर्म। मान्छेहरू जे सुकै भनुन्, तर बिजनेस नै हो। मान्छेहरूले यहाँ लगानी गर्छन्, फिर्ता आउने अपेक्षा राखेर। फिर्ता आएन भने ऊ यहाँ लगानी गर्न छाड्छ। अनि कसरी बिजनेस होइन? आज हलिउड जीवित हुनुको कारण नै बिजनेस भएर हो।

एउटा फिल्म हिट हुँदा निर्मातालाई मात्रै हुँदैन, सयौं फिल्ममा काम गर्ने प्राविधिक र कामदारहरुलाई फाइदा पुग्छ। उनीहरुले काम पाउँछन्। अर्को भारतको कुरा गर्ने हो भने त्यहाँका जनता अहिले पनि त्यति शिक्षित भइसकेका छैनन् कि संवेदनशील र गम्भीर किसिमका सिनेमालाई बुझ्न सकुन्।

भन्नाले त्यहाँ पनि फिल्म साक्षरता वृद्धि भइसकेको छैन?
हो, हिन्दी भाषामा कम छ तर मराठी र मलयालम सिनेमामा त्यस्तो समस्या छैन। तर, बिस्तारै हिन्दीमा पनि राम्रो सिनेमा बन्न थालेका छन्। अन्धाधुन्ध, बधाई हो, प्याडमेन, ट्वाइलेटः एक प्रेम कथा, सुपर ३० जना सिनेमा बन्न थालेका छन्। परिवर्तन आइरहेको छ, आउँदैछ।

यद्यपि यो परिवर्तनमा तपाईंको सहभागिता त देखिएन नि?
अवश्य हुन्छ। हिजो ‘बाजिगर’मा पनि थियो, ‘क्रिस’मा पनि थियो, जहाँ हिन्दी सिनेमाले पहिलोपल्ट सुपर हिरो भित्र्याएको थियो।

अब भन्दिनुस्, तपाईं बजारबाट चल्नुहुन्छ या बजारलाई चलाउन खोज्नुहुन्छ?
म बजारबाट चल्ने, मैले बजार चलाउन सक्दिनँ। बजारलाई त सलमान खान, शाहरुख खान, आमिर खानजस्ता ठूला मान्छेहरुले गाइड गर्ने हुन्, हामीले त सिर्फ उनीहरुलाई फलो गर्ने हो।

तर, लेखक भनेको त सर्जक हो, सिर्जनाको परख गर्ने मान्छे हो। त्यस्तो मान्छेले त बजारमा जे चलिरहेको छ त्यो दिन खोज्नुभन्दा पनि जे दिन आवश्यक छ त्यो दिनुपर्ने होइन र?
त्यो पनि सही हो। मैले धेरैपल्ट बजारलाई गाइड गर्ने प्रयत्न पनि गरेको हो। सफल भएको पनि हो। तर, मान्छेहरुले तपाईंलाई त्यसरी नचिन्ने रहेछन्। मैले पहिलोपल्ट ‘आशिकी’ फिल्म सबै गीतहरु रेकर्ड भइसकेपछि लेखेको थिएँ, तर कसैले पहिचान गरेनन्। मैले त्यो ठूलो प्रयोग गरेको थिएँ। मैले ‘बाजिगर’ लेखेँ, जहाँ हिरो मर्डरर थियो।

अन्ततः मेरो दोकान चल्छ, जबसम्म मेरो समझले भ्याउँछ भने स्क्रिप्ट लेखिरहन्छु। 

‘ओमकारा’, ‘अतिथि तुम कभ जाओगे’ पनि लेखेँ। तर, मान्छेले मेरो त्यस्तो सिनेमा देखेनन्, बरु ‘गोलमाल’, ‘चेन्नई एक्सप्रेस’जस्ता सिनेमामात्रै देखे। मैले उनीहरुलाई जबरजस्ती यो चाहिँ देख्नु, त्यो नदेख्नु भन्न पनि मिल्दैन। अन्ततः मेरो दोकान चल्छ, जबसम्म मेरो समझले भ्याउँछ भने स्क्रिप्ट लेखिरहन्छु, त्यही कुरा हो।

पछिल्ला केही वर्षदेखि मलाई के लाग्यो भने मैले जे सिकेँ, त्यो अरुलाई पनि बाँड्नुपर्छ। त्यसैले म यहाँ स्क्रिप्ट कार्यशालामा आउँदा एक पैसा पनि लिइनँ। मात्रै उहाँले मेरो प्लेन टिकट काटिदिनु भएको हो। म मेरो श्रीमतीसँग आएको छु। तर, श्रीमतीको पनि टिकट मैले आफैं काटेको हुँ। यहाँ मेरो अनुभव सुनेका प्रशिक्षार्थीमध्ये दुई जनाले मात्रै भए पनि भविष्यमा दुईवटा हिट फिल्म दिए भने म आफूलाई सफल भएको ठान्नेछु।

यो तपाईंको पहिलो नेपाल भ्रमण हो?
होइन, २० वर्षअघि आएको थिएँ, ‘कमान्डर’ नामको टेलिसिरियल सुट गर्न। म खासमा स्क्रिप्ट लेख्न आएको थिएँ। तर, एउटा एक्टर कम भएर मेकरले मलाई नै खेलाइदिए। त्यतिबेला खासै घुम्न पाइएन, पशुपतिनाथबाहेक। नेपालकै सम्पदा मल्लले उता मसँग एउटा सिरियलमा काम गरेकी थिइन्। अहिले उसले नै मलाई कार्यशालfमा आउन प्रस्ताव राख्दा म खुसीसाथ आएको हुँ।

कस्तो लाग्यो त नेपाल?
यो साँच्चिकै सुन्दर देश हो। चित्लाङ त झन् सुन्दर। मेरो त यहाँ मन नै बसिसक्यो। पछि पनि त्यतिकै ‘ह्याङआउट’का लागि आउनुपर्छ भन्ने लागिसक्यो।

नेपाली फिल्म हेर्नुभएको छ?
छैन तर हेर्न मन चाहिँ छ। ‘छक्कापन्जा’बारे सुनेको छु, हेर्ने मन छ।

अब स्क्रिप्ट राइटिङकै कुरा गरौं। नेपालका स्क्रिप्ट राइटर निर्देशक र निर्माताले फिल्म स्क्रिप्ट लेख्न पर्याप्त समय नदिने गुनासो गर्छन्। त्यताको अवस्था पनि त्यस्तै हो?
दुनियाँमा जति इन्डस्ट्री छ नि सबैको फिल्ममा प्रमुख कमजोरी स्क्रिप्ट नै हो। सबैतिर स्क्रिप्ट राइटरको अभाव नै छ। मुम्बईमा पनि त्यही नै हो, स्क्रिप्टका लागि टाइम नै दिँदैनन्। त्यही भएर १० प्रतिशत फिल्म पनि वर्षमा सफल हुँदैनन्।

पारिश्रमिक पनि एकदमै कम दिन्छन् यहाँ, त्यहाँ त राम्रै होला?
हो, यो समस्या मुम्बईमा पनि छ। एकदमै थोरै पैसा दिन खोज्छन् स्क्रिप्ट राइटरलाई। नेपालको तुलनामा बढी नै होला तर हलिउडको तुलनामा धेरै कम हो। बिस्तारै स्क्रिप्टमा राम्रो खर्च गर्ने फिल्ममेकर्स पनि बढिरहेका छन्। जब हिरो/हिरोइनलाई फिल्ममा लिन्छन्, त्यतिबेला उनीहरुको अनुहार हेर्छन् तर जब स्क्रिप्ट राइटरलाई फिल्ममा लिन्छन् उनीहरुको अनुहार हेर्दैनन्।

मुम्बईमा पनि त्यही नै हो, स्क्रिप्टका लागि टाइम नै दिँदैनन्। त्यही भएर १० प्रतिशत फिल्म पनि वर्षमा सफल हुँदैनन्। 

त्यतिबेला स्क्रिप्टको अनुहार राम्रो हुनुपर्छ, लेखकको जस्तो भए पनि चल्छ। त्यसैले म यहाँको फिल्म क्षेत्रमा काम गर्ने जति पनि लेखक हुनुहुन्छ, सबैलाई के भन्न चाहन्छु भने तपाईंसँग ‘नाई’ भन्न सक्ने तागत हुन जरुरी छ। तपाईंको स्क्रिप्ट राम्रो भएपछि नै कोही तपाईंको स्क्रिप्ट लिन तयार हुने हो। त्यसैले राइटरले आफ्नो स्क्रिप्टको मूल्यको सम्मान आफूले गर्न जान्नुपर्छ। यदि पैसा दिइस् भने दिन्छु नत्र दिन्न भन्न सक्नुपर्‍यो। तपाईं तपाईंको स्क्रिप्टको मूल्यको सम्मान गर्न सक्नुहुन्न भने कोही दोश्रो या तेश्रो व्यक्तिले किन गर्छ?

हामीकहाँ अर्को गुनासो के पनि सुनिन्छ भने यहाँ स्क्रिप्ट राइटरले लेख्दा कथा एउटा हुन्छ तर निर्देशकले तोडमोड गरेर अर्को बनाइदिन्छ। त्यस्तो समस्या त्यता पनि हुन्छ?
हो, यस्तो जताततै हुन्छ। हलिउडमा पनि हुन्छ। एउटाबाट लिएको स्क्रिप्ट निर्देशकले चारतिर देखाएर पुरै तोडमोड गर्ने गर्छन्। तर, हामी यस्तो हुन दिँदैनौं।

तपाईंले जस्ता मसला फिल्म लेखेर यहाँसम्म आइपुग्नुभयो बिस्तारै त्यस्ता फिल्म विस्थापित भइरहेका छन्, खतरा महसुस गर्नुभएको छैन?
हो, मलाई पनि खतरा छ। यो परिवर्तन मैले पनि महसुस गरिरहेको छु नि। परम्परागत कथ्यशैलीबाट हट्न म तयार छु। मसँगै काम गरेका सन् ९० को दशकका सबैजसो स्क्रिप्ट राइटर अहिले रिटायर्ड भइसके। मलाई सोध्छन्, तँ कसरी चलिरहेको छस्? म भन्छु, किनकि समयसँगै म पनि बदलिन तयार भएर हिँडिरहेको छु, बदलिरहेको पनि छु।

स्क्रिप्टलाई लिएर बलिउडमा कलाकारहरु कत्तिको गम्भीर हुन्छन्?
अचेल गम्भीर नै हुन्छन्। मैले आमिर खानसँग काम गरेको छु। आमिर आफैं स्क्रिप्ट सुन्छ गम्भीरताका साथ। त्यतिमात्रै होइन, मैले त्यही स्क्रिप्ट पछि फिल्मका अरु सदस्यलाई सुनाउनुपर्‍यो भने पनि ऊ नै अघि तम्सिन्छ र भन्छ, ‘म सुनाउँछु’। अनि, उसले नै न्यारेट गरेर सुनाउँछ। शाहरुख खान पनि त्यस्तै सिरियस छ। पूरै स्क्रिप्ट कान तिखो बनाएरै सुन्छ। कलाकारले स्क्रिप्ट सुन्नु नै पर्छ।

मैले आमिर खानसँग काम गरेको छु। आमिर आफैं स्क्रिप्ट सुन्छ गम्भीरताका साथ।

कुनै सिन चित्त बुझेन भने प्रश्न गर्न खोज्नुपर्छ, लजिक खोज्नुपर्छ र केही सुझाव दिन मन लागे नहिच्किचाइकन दिनुपर्छ। तर, त्यो सुटिङ सेटमा पुगेर होइन, स्क्रिप्ट पढेकै र सुनेकै बेला हुनुपर्छ।

नेपालबाट बलिउडले वर्षेनी करौडौं पैसा कमाएर लान्छ। यहाँ बलिउड फिल्मको राम्रो मार्केट छ। यसलाई बलिउडले कसरी हेरिरहेको छ?
हो, नेपाल बलिउडको राम्रो बजार हो। यहाँ बलिउडका धेरै दर्शक छन्। पैसा अरु देशको तुलनामा यहाँबाट धेरै कम आउला, तैपनि यो राम्रो बजार हो। खासमा नेपाल बलिउडका लागि सबैभन्दा राम्रो सुटिङ डेस्टिनेसन हुनुपर्ने हो। यसका लागि यहाँको राज्यले प्रचारमा पहल गर्नुपर्छ। सुनेको छु, पहल भइरहेको पनि छ। यहाँको प्राकृतिक सौन्दर्य लोभलाग्दो छ। सुटिङका लागि भारतबाट बेलायत पुगिरहनु पर्दैन, नेपाल आए हुन्छजस्तो लाग्छ।

नेपाली फिल्म उभो नलाग्नुको एउटा कारण ‘बलिउड ह्याङओभर’बाट उत्रन नसक्नुलाई लिइन्छ। यहाँ धेरै फिल्म बलिउडबाट कपी गरेर बनाइन्छ भन्ने तपाईंलाई थाहा छ?
थाहा छ, मेरो पनि दुई-तीनवटा फिल्म कपी भएको छ।

कुन–कुन फिल्म हो?
अहिले थाहा भएन, तर धेरै पहिले नेपालीले नै मलाई यो खबर सुनाएका थिए।

एक्सन लिनुपर्छ भन्ने लाग्दैन?
त्यतिबेला कपिराइट कानुन त थिएन। भर्खर त यो कानुन भारतमा बलियो हुँदैछ। यहाँ के छ, थाहा छैन।

तर कुनै पनि देशलाई त्यसरी एउटै रङमा प्रस्तुत गर्नु राम्रो होइन। मैले लेख्दा नेपाललाई म त्यसरी प्रस्तुत गर्दिनँ। 

जहाँसम्म ह्याङओभरको कुरा छ, बलिउड पनि हलिउडको ह्याङओभरमा थियो लामो समय। मैले पनि धेरै हलिउडबाट कपी गरेर फिल्म बनाएको छु, नबनाएको होइन। तैपनि भन्छु, यो ठीक होइन। हामीले आफ्नै कथा खोज्नु राम्रो हो।

तपाईं भारतमा स्क्रिप्ट राइटर एसोसिएसनको अध्यक्ष हुनुहुन्छ। नेपाली फिल्मले अनुमति नलिइकन नक्कल गर्दा पनि त्यता चुप लागेकै कारण यता प्रोत्साहन भइरहेजस्तो लाग्दैन?
हो, सही भन्नुभयो। उताको कपिराइट कानुन बलियो भएर होइन, यताको कानुन बलियो भयो भने कारबाही गर्न सजिलो हुन्छ। मलाई आशा छ, यो यहाँ पनि बलियो हुन्छ। त्यसैले म यहाँका फिल्मकर्मीलाई अनुरोध गर्छु- हामीलाई नसोधिकन हाम्रो स्क्रिप्ट नचोर्नुस्, आफ्नै कथामाथि फिल्म बनाउन्स्, अरुको चोर्न गलत काम हो, कुनै दिन फस्नुहोला।

केही बलिउड फिल्मले नेपाललाई ‘क्रिमिनल हब’का रुपमा देखाउँदै आइरहेका छन्। यस्तो गर्नु ठिक हो र?
जो नेपालमा आउँदैन, जसलाई नेपालबारे थाहा छैन। नेपाल नाआएकैले त्यसरी देखाउने हो। तर, कुनै पनि देशलाई त्यसरी एउटै रङमा प्रस्तुत गर्नु राम्रो होइन। मैले लेख्दा नेपाललाई त्यसरी प्रस्तुत गर्दिनँ।

एउटा सत्य चाहिँ के हो भने ९० को दशकमा भारतमा अन्डरवर्ल्ड ग्याङ एकदमै बलियो थियो। केही अन्डरवर्ल्ड अपराधीले त्यतिबेला भागेर नेपालमा आएको धेरै पुस्तकहरुमा उल्लेख छ। सायद त्यसकै प्रभाव होला, केही फिल्ममेकरले नेपाललाई त्यसरी देखाइरहेका छन्। तर, त्यो गलत हो।