काठमाडौं- योगदानमा आधारित सामाजिक सुरक्षा योजना अन्तर्गत सामाजिक सुरक्षा कोषमा पहिलो पटक गणपति बक्स इन्डस्ट्रिजले उद्योगमा कार्यरत २५ जना श्रमिकहरुको योगदान बापतको रकम जम्मा गरेको छ।
उद्योगमा कार्यरत २५ श्रमिकहरुको नाममा ९१ हजार रुपैयाँ जम्मा गरेको कोषले जनाएको छ।
श्रमिकको न्यूनतम पारिश्रमिकको ११ प्रतिशत रकम र रोजगारदाताले आधारभूत तलबको २० प्रतिशत रकम थप गरी मासिक ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्ने व्यवस्था छ।
योगदान बापतको रकम कोषमा जम्मा गरेपश्चात् मात्र कोषले सञ्चालनमा ल्याएका सामाजिक सुरक्षा योजना बमोजिमका सुविधाहरु प्राप्त गर्न सकिन्छ।
सामाजिक सुरक्षा कोषले प्रारम्भमा औषधोपचार तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजनासहित ४ वटा सुरक्षा योजना अघि सारेको छ।
बुधबारसम्म कोषमा ४ हजारभन्दा बढी प्रतिष्ठानहरु आबद्ध भइसकेको कोषकी प्रवक्ता रमा भट्टराईले जानकारी दिइन्। कोषमा ३ हजारभन्दा बढी श्रमिकहरु आबद्ध भइसकेका छन्। तर उनीहरुको योगदान बापतको रकम भने कोषमा जम्मा गरिएको छैन।
२०७५ मंसिर ११ गते औपचारिक शुभारम्भ भई २०७६ साउन १ गतेदेखि औपचारिक रुपमा सामजिक सुरक्षा योजना कार्यान्वयनमा आएको छ।
आगामी असोज मसान्तसम्म सबै प्रतिष्ठानहरु अनिवार्य सहभागी भइसक्नुपर्ने कोषले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।