काठमाडौं– श्रीकष्ण जन्माष्टमी र गौरा पर्वको अवसरमा आज प्रदेश २ र सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदा दिइएको छ।
प्रदेश २ मा श्रीकृष्ण जन्माष्टमी अवसरमा सार्वजनिक बिदा घोषणा गरिएको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले एक विज्ञप्ति जारी गर्दै श्रीकृष्ण जन्माष्टमीको अवसरमा बिदा घोषणा गरेको हो।
मुख्यमन्त्री लालबाबु राउतले धर्म संस्कृतिको संवर्द्धनमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै सर्वधर्म समभावको नीति अवलम्बन गर्दै प्रदेश सरकार काम गरिरहेको बताएका छन्।
मुख्यमन्त्री राउतद्वारा हस्ताक्षरित विज्ञप्तिमा हिन्दु धर्माबलम्बीहरुको महान चाड श्रीकृष्ण जन्माष्टमीको अवसरमा प्रदेश, देश तथा विदेशमा बस्ने सम्पूर्ण नेपालीमा सुख, शान्ति एवं समृद्धिको कामना व्यक्त गरिएको छ।
यस्तै, सुदूरपश्चिम प्रदेश सरकारले भने प्रदेशमा हर्षोल्लासका साथ मनाइने गौरा पर्वको अवसरमा बिदा घोषणा गरेको छ। यसअघि बिदा नदिइएको भन्दै सरकारविरुद्ध आलोचना भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।