काठमाडौं - हंगेरीको बुडापेस्टमा भइरहेको सातौं विश्व जुनियर पौडी प्रतियोगितामा नेपालका दुई खेलाडी राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भएका छन्।
एक सय मिटर बटरफ्लाईमा शाहिद हम्जा शाहले तीन दशक अघिको राष्ट्रिय कीर्तिमान भंग गरेका हुन्। शाहले ०१।०१।२२ सेकेण्डस्को टाइमिङ निकाल्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका हुन्।
यसअघि यो कीर्तिमान ०१।०३।४३ सेकेण्ड्सको टाइमिङमा आनन्द लेप्चाको नाममा थियो। लेप्चाले यो कीर्तिमान सन् १९८९ मा बनाएका थिए।
त्यस्तै एक सय मिटर ब्रेस्ट स्टोकमा अदिप्सा वैद्यले पनि नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन्। वैद्यले ०१।२३।८९ सेकेण्डस्को टाइमिङ निकाल्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन्। यसअघि यो कीर्तिमान ०१।२५।८२ सेकेण्डस्को टाइमिङमा टिसा शाक्यको नाममा थियो।
अगष्ट २५ तारिखसम्म हुने प्रतियोगितामा समान ४–४ पुरुष/महिला खेलाडीले नेपालको चुनौति प्रस्तुत गरिरहेका छन्। प्रतियोगितामा सहभागी हुने पुरुष पौडीबाजहरुमा सैयद हम्जा शाह, गौरव लामा, वैदज्ञराज जोशी र विकास कुमाल रहेका छन्।
महिलातर्फ टीसा शाक्य, अदिप्सा वैद्य, युस्का महर्जन र अनुष्का पोख्रेलले सहभागिता जनाइरहेका छन्। प्रशिक्षकमा ईश्वर कार्की तथा टिम व्यवस्थापकमा वैभव पौडेल छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।