काठमाडौं - पाँचौँ एभिसी एसियन सेन्ट्रल जोन भलिबल प्रतियोगिताको फाइनलमा उज्वेकिस्तान र कीर्गिस्तान खेल्ने भएका छन्। सेमिफाइनलमा उज्वेकिस्तानले माल्दिभ्स र कीर्गिस्तानले तुर्कमेनिस्तानलाई हराएका हुन्।
बिहीबार भएको सेमिफाइनलमा उज्वेकिस्तानले माल्दिभ्सलाई २५-२०, २५-१९ र २५-२१ को सोझो सेटमा हराएको हो।
यस्तै कीर्गिस्तानले तुर्कमेनिस्तानलाई पनि २५-१७, २५-१८ र २५-२२ को सोझो सेटमा हराएको थियो।
फाइनल खेल सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्र लगनखेलमा शनिबार दुई बजे हुनेछ।
कीर्गिस्तान तेस्रो संस्करणको विजेता टिम हो भने उज्वेकिस्तानको जित पहिलो उपाधि हुनेछ।
यस्तै समूह चरणमा कीर्गिस्तान र माल्दिभ्ससँग पराजित भएको नेपाल पाँचौँ स्थानका लागि खेल्दैछ। नेपालको खेल आज दिउँसो ३ बजे हुनेछ।
प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपाल समूह चरणका दुवै खेलमा सोझो सेटमा पराजित भएको थियो भने समूह ‘बी’ मा रहेको अफगानिस्तानले १ खेलमा जित र दुईमा हार बेहोरेको थियो।
प्रतियोगिता अघिको मैत्रीपूर्ण खेलमा अफगानिस्तानविरुद्ध दुवै खेल जिते पनि नेपाली टोलीको पछिल्लो प्रदर्शन सम्झनलायक नहुँदा टोलीमाथि दबाब छ। अफगानिस्तानसँग पनि सोझो सेटमा हारेमा यो नेपालको अहिलेसम्मकै लज्जास्पद प्रतियोगिता हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।